दिपेश चौधरी-
चितवन । चितवनको नारायणी नदी किनारमा आयोजना हुने चितवन महोत्सवको १४ औं संस्करणको तयारी तीब्र पारिएको छ । महोत्सव परिसरमा रंगरोगन देखि स्टल निर्माणको काम भइरहेको छ । पुस २५ गतेदेखि माघ ४ गते सम्म संचालन हुने महोत्सवको उद्घाटन नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले गर्नुहुने कार्यक्रम छ ।
चितवनको पहिचान, यहाँको बुहआयामिक विविधता, पर्यटन र आन्तरिक तथा बाह्य पर्यटनको उत्कृष्ट गन्तव्य चितवन हो भन्ने विषयमा महोत्सव केन्द्रीत हुने मंगलवार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
महोत्सव आयोजक संस्था उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठले माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सवमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पोल्ट्री तथा उद्योग प्रवद्र्धनका गतिविधि सञ्चालन हुने जानकारी दिनुभयो ।
यसवर्षको महोत्सवमा सात वटा विशेष स्टल, डोम, र कृषि परिसर, अटो परिसर, सूचना तथा प्रविधि परिसर, मेड इन नेपाल परिसर र घरेलु तथा साना उद्योगका लागि आवश्यक मेसिनरी सामानको स्टल, विभिन्न संघ संस्थाका स्टल, रेष्टुरेन्ट परिसर सहित ४५० वटा स्टलहरु रहने श्रेष्ठको भनाइ छ । महोत्सवमा राखिने सम्पूर्ण स्टलहरुको बीमा गरिएको श्रेष्ठको भनाइ छ । दश दिनसम्म सञ्चालन हुने महोत्सवमा विविध खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिहरुको भेषभूषा, कला संस्कृति झल्कने विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, प्रतियोगितात्मक कृषिउपजको प्रर्दशनी रहने श्रेष्ठले जानकारी दिनुभयो ।
चितवन महोत्सव अन्तर्गत परम्परागत खानाको प्रवद्र्धन गर्ने उद्देश्यले पुस २८ देखि माघ २ गतेसम्म नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबलको आयोजना गरिने छ । त्यस्तै पुस २९ देखि माघ ३ गतेसम्म कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत जिल्लाको सामाजिक आर्थिक विकासका सम्भावनामा केन्द्रित रहि विज्ञहरुको उपस्थितिमा दैनिक राष्ट्रिय स्तरका सेमिनार तथा गोष्ठीहरु सञ्चालन गरिने छ ।
यसपटकको महोत्सवमा मौरी र तोरीलाई प्रवद्र्धन गर्ने उद्देश्यले मौरीको प्रतीमा सहित तोरीबारीको निर्माण गरि कृषि कर्मतर्फ आकर्षित गर्न लागेको श्रेष्ठको भनाइ छ । महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई ६० रुपैयाँ तथा विद्यार्थीका लागि ३० रुपैयाँ टिकट मूल्य राखिएको छ । आन्तरिक तथा बाह्य पर्यटक सहित करिब पाँच लाखले महोत्सवको अवलोकन गर्ने अपेक्षा राखेको आयोजकले महोत्सव अवधिभर करिब रु २५ करोडको कारोबार हुने अनुमान गरेको छ ।
((००))