चितवन २६, माघ । कुखुरा पालनको राजधानीको रूपमा चिनिन्छ चितवन । तर पछिल्लो समयमा चितवनमा नयाँ खुल्ने पोल्ट्रीभन्दा बन्द गर्नेको संख्याको बढी छ । मंगलबारमात्रै झापामा कुखुरा पालक किसानले सडकमा अण्डा ल्याएर फुटाएर विरोध प्रदर्शन गरे । सडकमा ल्याएर अण्डा फुटाएर विरोध गर्नुको पछाडि अण्डा र कुखुराको मासुले लागतअनुसारको मूल्य नपाएर हो ।
अहिले एउटा अण्डाको उपभोक्ताले १५ रूपैयाँ तिर्ने गर्छन् भने कुखुराको मासु साढे ३ सय रूपैयाँमा पाइने गर्छ । ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेल लागत उठाउन नसकिएको कारण चितवनमा मात्र ६ वटा ह्याचरी बन्द भएको बताउँछन् । “अहिले चल्ला उत्पादन गर्ने काम नै बन्द भएको छ,” पोखरेलले भने, “आत्मनिर्भर भएको क्षेत्र अब धरासायी बनेको छ ।”
पोल्ट्री व्यवसायमा एक खर्बभन्दा बढी लगानी भएको छ । बेला बेलामा बर्ड फ्लुको कारण कुखुरा पालक किसानलाई समस्यामा परेको थियो । २०७६ सालमा कोभिड नियन्त्रणको लागि सरकारले लकडाउन गरेपछि नै पोल्ट्री व्यवसाय झनै समस्यामा पर्यो । पछिल्लो समय बढेको ब्याजदरले व्यवसायलाई निकै समस्या पारेको अध्यक्ष पोखरेल बताउँछन् ।
“बैंकको ब्याज बढेपछि सो अनुसारको व्यापार नहुँदा किस्ता तिर्न समस्या छ,” पोखरेलले भने, “कुखुरा पाल्नको लागि चाहिने दानादेखि अन्य खर्च निकै बढेको छ । सो अनुसारको मूल्य नपाएपछि व्यवसाय बन्द गर्नुको विकल्प छैन ।” व्यवसायीहरूका अनुसार ठूलो लगानी गरेका पोल्ट्री तथा ह्याचरी व्यवसायी नै अवस्थामा सुधार नभएमा ठूला लगानीकर्ता समेत अब बाहिरिने तयारीमा छन् । व्यवसायीका अनुसार अहिले २० रूपैयाँमा समेत चल्ला बिक्री हुन मुस्किल छ । यस्तै अवस्था ब्रोइलर कुखुरामा समेत छ ।
“कुखुरा र अण्डा भारतबाट आउन नपाए पनि अवैध तरिकाले भित्रिने गरेको छ,” अध्यक्ष पोखरेलले भने, “राज्यले वास्ता नगर्ने हो भने देशभित्र लगानी गर्न सक्ने अवस्था छैन ।” भारतमा कुखुरा पालन गर्नेले ब्याज अनुदान तथा दाना समेत सहुलियत दरमा पाउने व्यवस्था छ । नेपालमा ह्याचरीमा कुनै खाले ब्याज अनुदान छैन । दानामा समेत हरेक वर्ष मूल्य बढ्दै गएको छ ।
“बर्ड फ्लूको समयमा नष्ट गरिएका कुखुराको समेत हामीले राज्यबाट क्षतिपूर्ति पाउन सकेका छैनौँ, सरकारको नीति नेपालमा उत्पादन बढाउने भन्दा विदेश गएर आयात गरेर खाउ भन्नेमा छ ।” चितवनमा पोल्ट्री व्यवसायी प्रभावित हुँदा यसको असर अन्य क्षेत्रमा समेत परेको व्यवसायीहरू बताउँछन् ।
देशभर नै पोल्ट्री व्यवसायीको अवस्था चितवनभन्दा फरक छैन । नेपाल पोल्ट्री व्यवसायमा दुई दशकदेखि नै आत्मनिर्भर भएको छ ।व्यवसायीका अनुसार डेढ सयजति ह्याचरी उद्योगहरू अहिले बन्द भएका छन् । कुखुरा उत्पादनको लागि चल्लादेखि लिएर दाना तथा अण्डा उत्पादनसम्मको एउटा इको सिस्टम हुन्छ । अहिले सबै क्षेत्र नै धरासायी भएको व्यवसायीहरू बताउँछन् ।–00–