चितवन ११, भदौ
रत्ननगर । पूर्वी चितवनको रत्ननगर वडा नं ५ स्थित जनकौली मध्यवर्ती सामुदायिक वनमा पर्यटन विकासको लागि जीप सफारी सञ्चालनमा आएको छ । बुधबार वनको कार्यालय परिसरमा आयोजित एक औपचारिक कार्यक्रमका बीच बागमती प्रदेशका पूर्वअर्थमन्त्री जगन्नाथ थपलियाले जीप सफारीको उद्घाटन गरेका हुन् । जीप सफारी सुरु भएकै दिन बागमती प्रदेशका कृषिमन्त्री मधुसुधन पौडेलले जीप सफारी मार्फत सो सामुदायिक वनको अबलोकन गरेका छन् । उद्घाटन कार्यक्रममा बागमती प्रदेशका पूर्व वनमन्त्री कृष्णप्रसाद सिलवाल, रत्ननगर नगरपालिकाका उपमेयर यादब प्रसाद पाठक, निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत डा.गणेश पन्त सहित राजनीतिक दलका नेतृत्वहरुको उपस्थिति रहेको थियो । सो अबसरमा वनका अध्यक्ष जोगेन्द्र महतोले सौराहाको काँखैमा रहेको वनमा स्थापनाको २२ बर्षपछि जीप सफारी सुरु गरेको भन्दै पर्यापर्यटन मार्फत स्थानीय समुदायको जीवनस्तर उकास्ने उद्देश्य रहेको बताए । सौराहामा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई जीप सफारी मार्फत वन्यजन्तुको अबलोकन गराउने उद्देश्यले व्यापक तयारी गरी सफारी सुरु गरिएको बताउदै उनले जीप सफारी मार्फत पर्यटकले एकसिंगे गैँडा, बाघ, जंगली हात्ती, भालु, चितुवा, चित्तल, जरायो जस्ता दुर्लभ वन्यजन्तु अबलोकन गर्न सक्ने बताए । १०६ हेक्टर क्षेत्रफलमा फैलिएको सो सामुदायिक वन २०६० सालमा स्थापना भएको हो । करिब २ हजार उपभोक्ता रहेको सो सामुदायिक वनमा पर्यापर्यटनको विकासकै लागि २०६६ सालमा डुंगा सञ्चालन गरिएको सचिव नारायण चौधरीले जानकारी दिए । जीप सफारीको लागि सो वनले व्यवस्थित रुट तयार गरेको छ । साढे चार किलोमिटरको दुरीमा डेढ घण्टा देखि दुई घण्टा सम्म पर्यटकलाई सफारी गराइने छ । सुरुवाती चरण विहान ७ वटा र बेलुका ७ वटा गरी दैनिक १४ वटा जीप सञ्चालन गरिने सचिव चौधरीले जानकारी दिए । उद्घाटन समारोहका प्रमुख अतिथि पूर्वअर्थमन्त्री थपलियाले मध्यवर्ती सुरक्षा र सन्तुलन रहेको भन्दै जीप सफारीलाई अबसरको रुपमा लिएर उचित व्यवस्थापनका साथ सञ्चालन गर्नुपर्ने बताए । उनले सौराहालाई बाढीको जोखिमबाट जोगाउन लोथर देखि सौराहासम्म मजबुत ड्याक निर्माणको थालनी भएको बताए । ३५ बर्ष अघि निर्माण भएको ड्याक जीर्ण भइसकेको भन्दै उनले पुन निर्माणको लागि आफु मन्त्री हुँदा १८ करोड रुपैया विनियोजन गरेर काम सुरु भएको बताए । कार्यक्रममा वडाध्यक्ष सजना महतो, बालकृष्ण चापागाईँ, नेकपा एमालेका नगर अध्यक्ष इश्वरी प्रसाद अर्याल, माओवादी केन्द्रका नगर अध्यक्ष मेघनाथ पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष रामनाथ भट्टराई, एकीकृत समाजबादीका प्रदेश कमिटी सदस्य अर्जुन ढकाल, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका पूर्वअध्यक्षहरु बासु ढुंगाना, बासु चापागाई लगायतले मन्तव्य राखेका थिए । वनका अध्यक्ष महतोको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमा उपाध्यक्ष रुदल महतोले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम सचिव चौधरीले सञ्चालन गरेका थिए ।