बाढीले त्रिशूली किनारमा जलिरहेको चिता बगायो, रसुवामा १८ जना बेपत्ता

काठमाडौं,२४ असार । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, चरौंदी नजिकै त्रिशूली नदी किनारमा अन्त्येष्टि गरिँदै गरेको चिता मंगलबार बिहान बाढीले बगाएको छ ।

गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’ का अनुसार बिहान ५ बजे एक आफन्तको निधन भएपछि शवलाई चरौंदीस्थित त्रिशूली किनारमा दाहसंस्कार गरिँदै थियो । तर, बिहान साढे ९ बजेतिर त्रिशूली नदीमा अचानक बाढी बढेपछि जलिरहेको शवको अवशेषसहित चिता नै बगाएको उनले जानकारी दिए ।

‘शव त लगभग जलिसकेको अवस्था थियो, चिता भने अझै बाँकी थियो। त्यही बेलामा बाढी आएर बगायो,’ अध्यक्ष थपलियाले भने । वडा नम्बर ७ का अध्यक्ष कुमार बस्नेतले चिता बगाएको दृश्य सामाजिक सञ्जालमा भिडियोमार्फत सार्वजनिक गरेका छन् । गाउँपालिका अध्यक्ष थपलियाका अनुसार त्रिशूली नदी आसपासका क्षेत्रहरू बाढीको जोखिममा परेपछि पालिका भित्र पूर्वसावधानीका सूचना दिइसकिएको थियो । ‘हामी पनि सचेत भएर दाहसंस्कारमा सहभागी भएका थियौं,’ उनले भने, ‘चिता नै बगायो, तर हामी सबै सुरक्षित छौं।’

उक्त बाढीको प्रभाव चीनतर्फबाट आएको बाढीसँग जोडिएको देखिएको छ । सोमबार राति आएको बाढीका कारण रसुवामा कम्तिमा १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ९ नेपाली नागरिक, ८ चिनियाँ नागरिक र तीन जना प्रहरी रहेका छन् ।

बाढीले रसुवागढीस्थित जलविद्युत आयोजनासहित भन्सार र सुख्खा बन्दरगाह क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । बन्दरगाहमा रहेका ७ वटा इलेक्ट्रिक (ईभी) सवारीसाधन समेत बगेका छन् ।

Share:

सम्बन्धित समाचारहरु