आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ८७ करोड ७८ लाख ८१ हजार प्रस्तावित बजेट नगरसभामा पेश

कालिकाको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक, के के छन ? नीति तथा कार्यक्रममा ?

कालिका, ५ असार । चितवनको कालिका नगरपालिकाले आगामी आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । सो नगरपालिकाको दोस्रो कार्यकालको पाँचौ नगर सभा मार्फत आर्थिक बर्ष २०८१/0८२ को नीति तथा कार्यक्रमसँगै प्रस्तावित बजेट ल्याएको हो ।

चेपाङ बालबालिकाको शिक्षाको लागि मेयर संग केयर कार्यक्रम, एक वडा एक खेलकुद मैदान, विपन्न समुदायलाई निःशुल्क स्वास्थ्य बीमा, कार्यालय देखि खेत सम्म प्रविधिको प्रयोग लगायतका विषयहरु समावेश गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको नगरपालिकाले आगामी आर्थिक बर्षको लागि करिब ८८ करोड बजेट ल्याएको हो । नगर सभामा नगर प्रमुख विनोद रेग्मीले आगामी वर्षको नीति तथा कार्यक्रम र उप प्रमुस विमला तामाङले बजेट प्रस्तुत गरेकी गर्नुभएको थियो ।

आगामी आर्थिक बर्ष ब २०८१/०८२ को लागि राजश्व तथा अनुदान प्राप्तिको अनुमानका आधारमा ८७ करोड ७८ लाख ८१ हजार बजेट नगरसभामा पेश गरिएको छ । कुल बजेटमा आन्तरिक आय तर्फ ६ करोड, राजश्व बाँडफाँडबाट १८ करोड २४ लाख ३१ हजार, जनसहभागिताबाट १ करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरण संघीय सरकार तर्फबाट ४५ करोड १५ लाख, अन्तर सरकारी वित्तीय हस्तान्तरण बागमती प्रदेश सरकार तर्फबाट ७ करोड ३९ लाख ५० हजार, सडक वोर्डबाट ५० लाख, जिल्ला समन्वय समितिबाट ५० लाख, मालपोत रजिष्ट्रेशन र नदिजन्यवाट ६ करोड र गत वर्षको जिम्मेवारी सर्ने ३ करोड आम्दानी गर्ने लक्ष्य रहेको छ ।

नीति तथा कार्यक्रम अन्तर्गत सो नगरपालिकाले चेपाङ बालवालिकालाई विद्यालयमा टिमाउन मेयरसंग केयर कार्यक्रम ल्याएको छ । आर्थिक तथा सामाजिक रुपले पछाडि परेका बालवालिकालाई विद्यालयमा ल्याउन, टिकाउन, सिकाउन र विकाउन मेयर केयर कार्यक्रम ल्याइएको मेयर रेग्मीले बताउनुभयो । सो कार्यक्रम अन्तर्गत छात्राबृति, शैक्षिक सामग्री, पोसाक सहित दिवा खाजा कार्यक्रमलाई प्रभावकारी र आवासीय विद्यालय सचालन गरिने उहाँले जानकारी दिनुभयो । शिक्षाको विकासको लागि किताब विहीन दिन तथा शिक्षालाई प्रविधिसंग जोडेर सीपशाला संचालन गरिने छ ।

खेलकुदको विकासका लागि एक वडा एक खेलमैदान, खुल्ला व्यामशाला, नगर स्तरीय आधुनिक पुस्तकाल तथा स्वास्थ्य तर्फ बृद्धबृद्धाहरुको घरघरमै स्वास्थ्य परीक्षण, नगर भित्रका विपन्न समुदायको निःशुल्क स्वास्थ्य विमा, पोषणमैत्री पालिका घोषण, २०८३ सम्म बालमैत्री नगर घोषणा, उपमेयरसंग बालवालिका कार्यक्रम सार्वजनिक गरिएको छ ।

कृषि र पशुपालनको विकासको गरी उत्पादन बढाउन अधिकतम अनुदान, कार्यालय देखि खेल सम्म प्रविधिको प्रयोग, रैथाने बालिको संरक्षण, कालिकाको सान विषादी मुक्त खानपान, नगर कृषक सम्मान, खाद्य सुरक्षाको लागि मिठो मसिनो खाउ, खाना नफालौ भन्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ । सो नगरपालिकाले आगामी आर्थिक बर्षमा २५० जनालाई रोजगारी, कोसेली घर निर्माण, पर्यटन विकास मार्फत स्थानीयको आयआर्जन र चेपाङ बस्तीमा फलफुल खेतीलाई जोड दिएको छ ।

नगर सभामा विधायन समितिकी संयोजक तथा उपमेयर विमला तामाङ, सामाजिक विकास समितिका संयोजक मकरमान श्रेष्ठ, आर्थिक विकास समितिका संयोजक दीपकसिंह परियार, वन बाताबरण समितिका संयोजक वीरेन्द्र तामाङ, पूर्वाधार विकास समितिका संयोजक लक्ष्मण पौडेल, सुशासन समितिका संयोजक दीपक बहादुर भट्टराई, लेखा समिति संयोजक टीकाराम रेग्मीले विषयगत समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए । नगरसभाको पहिलो बैठकले नगर प्रमुख रेग्मीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित भएको छ भने उपप्रमुख तामाङले प्रस्तुत गर्नुभएको प्रस्तावित बजेट दोस्रो बैठकबाट पारित हुने प्रमुख प्रशासकीय अधिकृत चुडामणि गौतमले जानकारी दिनुभयो ।

—00–

 

 

Share:

सम्बन्धित समाचारहरु