काठमाडौं, २६ बैशाख । भारतमा उच्च सुरक्षा सतर्कता अपनाउँदै २४ विमानस्थल नागरिक उड्डयन सेवाका लागि बन्द गरिएको छ। पञ्जाब, जम्मू कश्मीर, लद्दाख, गुजरात, राजस्थान र हिमाचल प्रदेशका विमानस्थलहरूमा यो निर्णय लागू गरिएको बीबीसीले जनाएको छ।
भारतीय नागरिक उड्डयन सुरक्षा ब्यूरो (BCAS) ले देशभरका सबै एयरलाइन्स र विमानस्थलहरूलाई सुरक्षा उपायहरू कडा बनाउन निर्देशन दिएको छ। निर्देशअनुसार सबै यात्रुहरूको विस्तृत जाँच हुनेछ भने टर्मिनल भवनमा आगन्तुकहरूको प्रवेश निषेध गरिएको छ।
यसबाहेक, संवेदनशील विमानस्थलहरूमा एयर मार्शल तैनाथ गर्नेसमेत आदेश दिइएको छ।
एयर इन्डियाले यात्रुहरूलाई तीन घण्टा अगाडि विमानस्थलमा पुग्न सल्लाह दिएको छ। आन्तरिक उडानका लागि चेक–इन सेवा उडानभन्दा ७५ मिनेट अगाडि बन्द हुने जानकारी दिइएको छ।
सुरक्षा सतर्कता पछिल्ला दिनहरूमा भारत र पाकिस्तानबीच बढ्दो तनावको पृष्ठभूमिमा आएको हो।–00–