प्रकाश वाग्ले / मनोज आचार्य – सेतो नेपाल
दक्षिण कोरिया, ३० साउन । दक्षिण कोरिया, जसलाई आज “हान नदीको चमत्कार” भनेर चिनिन्छ, सन् १९६० को दशकमा भोकमरी र खाद्यान्न संकटको सामना गर्दै विश्वका गरिब राष्ट्रहरूमध्ये एक थियो। कोरियाली युद्धले देशको आधारभूत संरचना र कृषि प्रणालीलाई पूर्ण रूपमा नष्ट गरिसकेको अवस्थामा, दैनिक आवश्यकताका लागि बाह्य सहयोग अपरिहार्य थियो। यही समयमा नेपालले आफ्नो सीमित स्रोत र क्षमतामा रहेर दक्षिण कोरियालाई अन्न र खाद्यान्न सहयोग प्रदान गर्यो। नेपाली अन्नले तत्काल राहत मात्र पुर्याएन, दुई देशबीच मित्रता र आपसी विश्वासको आधार तयार गर्न पनि महत्वपूर्ण भूमिका खेलेको थियो।

त्यसपछि दक्षिण कोरिया आफ्नो कृषिलाई सुधार्ने दिशामा अघि बढ्यो। १९६०–७० को दशकमा सरकारले उत्पादन वृद्धि र आत्मनिर्भरता हासिल गर्ने लक्ष्य राख्दै भूमि सुधार कार्यक्रम लागू गर्यो। यस अन्तर्गत भाडामा खेती गर्ने कृषकहरूलाई साना स्वामित्वयुक्त खेत दिइयो, जसले कृषकहरूको आत्मनिर्भरता र उत्पादन क्षमता बढायो। १९७० को दशकमा सुरु भएको “सैम्युल आन्दोलन” (Saemaul Undong) मार्फत ग्रामीण क्षेत्रको आधारभूत संरचना, सडक, पानी, सिंचाइ र सामुदायिक सहकार्यलाई बलियो बनाइयो।
हरित क्रान्ति र आधुनिक कृषि प्रविधिको प्रयोगले धान उत्पादनमा उल्लेखनीय वृद्धि ल्यायो। १९७८ सम्म दक्षिण कोरिया धानमा पूर्ण आत्मनिर्भर बन्यो, औसत धान उत्पादन ४.२ मिलियन टन थियो। १९९६ मा दक्षिण कोरिया एशियामा पहिलोपटक कृषि यांत्रिकीकरणमा अग्रणी राष्ट्र बन्यो, जसले कृषकहरूको आय र जीवनस्तरमा महत्वपूर्ण सुधार ल्यायो।

आज दक्षिण कोरिया स्मार्ट फार्मिङ, आधुनिक ग्रीनहाउस र जलवायु अनुकूल कृषि अभ्यासमा अग्रणी छ। लगभग १५% भन्दा बढी फार्महरूले स्मार्ट ग्रीनहाउस प्रयोग गर्दै छन्। कृषि निर्यात बढ्दै ८.२ अर्ब अमेरिकी डलर पुगेको छ भने कृषकहरूको औसत आय ४२ लाख कोरियन वोनसम्म पुगेको छ। आगामी २०३० सम्म धान उत्पादनलाई ४.५ मिलियन टनमा वृद्धि गर्ने, स्मार्ट फार्म प्रयोगलाई ४०% पुर्याउने र कृषकको औसत आय ६० लाख वोनसम्म बढाउने लक्ष्य राखिएको छ।
नेपालसँगको सम्बन्ध अझ सुदृढ बनाउँदै, दक्षिण कोरिया हाल नेपालमा कृषि प्रविधि केन्द्र (KOPIA) स्थापना गर्दैछ। यस केन्द्रमार्फत नेपाली कृषकलाई स्मार्ट फार्मिङ, जलवायु अनुकूल अभ्यास, उन्नत बीउ र उत्पादन सुधारका आधुनिक तरिकामा प्रशिक्षण दिइनेछ। अन्न, आलु र अन्य प्रमुख बालीमा उत्पादन सुधारका परियोजनाहरू पनि सञ्चालनमा ल्याइने छन्।

नेपालका लागि पनि दक्षिण कोरियामा काम गर्ने श्रमिकहरूको ठूलो योगदान छ। निर्माण, कृषि र प्रविधि क्षेत्रमा नेपाली श्रमिकहरूले आफ्नो मेहनत र सीप प्रस्तुत गर्दै दुई देशबीचको आर्थिक र सामाजिक सम्बन्ध बलियो बनाउन मद्दत गरेका छन्।
विशेषज्ञहरूले विश्लेषण गरेका अनुसार, दक्षिण कोरियाको भोकमरीको समयदेखि आधुनिक कृषि र प्रविधि प्रयोगमा अग्रणी राष्ट्र बन्ने यात्रा, नेपालका लागि पनि उदाहरणीय छ। दुई देशबीचको ऐतिहासिक खाद्यान्न सहयोगदेखि आधुनिक कृषि साझेदारीसम्मको यात्रा, मित्रता र साझा विकासको जीवित प्रमाण हो। –000—


