काठमाडौं , ३० साउन । नेपालमा मनसुन केही कमजोर बन्दै गएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ सरिसकेकाले अघिल्ला दिनको तुलनामा वर्षा कम हुने देखिएको छ ।
मौसमविद् डेभिड ढकालका अनुसार तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावना छैन । उनले भने, “पानी पर्दै नपर्ने होइन, तर हिजोअस्ति जस्तो भारी वर्षा हुने अवस्था छैन ।”
ढकालका अनुसार तराई मधेशको तुलनामा पहाडी क्षेत्रमा वर्षा अलि बढी हुने सम्भावना छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थान र तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
त्यसैगरी, आज राति गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्र, साथै बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।—00—

