चितवन, २४ जेठ । चितवनको भरतपुर महानगरपालिका र कालिका नगरपालिकाका सामुदायिक विद्यालयहरूमा डिजिटल पुस्तकालय स्थापना तथा सञ्चालनका लागि ७७ लाख रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरिएको छ।
अहिलेका बालबालिकाहरू डिजिटल माध्यमबाट अध्ययन गर्न रुचि राख्ने भएकाले सिकाइमा सहजता ल्याउन अटिजम केयर चितवन सोसाइटीले ‘समावेशी शिक्षा परियोजना’ अन्तर्गत भरतपुर र कालिकाका १२९ विद्यालयलाई एक-एकवटा सिपियु (CPU) र राउटर वितरण गरेको हो।

परियोजनाका संयोजक सुशिल मगरका अनुसार भरतपुर र कालिकाका विद्यालयहरूलाई चारठाउँमा कार्यक्रमगरी सामग्री हस्तान्तरण गरिएको हो। “प्रत्येक विद्यालयमा डिजिटल लाइब्रेरी स्थापना गर्ने लक्ष्य लिएको छौं,” उनले भने।
प्रत्येक विद्यालयले पाएको सिपियु र राउटरको माध्यमबाट स्मार्ट टिभी, ल्यापटप, प्रोजेक्टर आदिको प्रयोग गरी अन्य कक्षाहरूमा समेत प्रविधिमैत्री पढाइ सम्भव हुनेछ। डिजिटल लाइब्रेरीमा बालबालिकालाई आवश्यक सबै पाठ्यपुस्तकहरू समावेश गरिएका छन्। पाठ्यक्रमसँगै बालमैत्री कन्टेन्टलाई भिजुअलाइज गरी प्रस्तुत गरिएकाले विद्यार्थीहरूका लागि सिकाइ अझ सजिलो र आकर्षक हुने विश्वास गरिएको छ।
समुदायमा अझै धेरै बालबालिका विद्यालयको पहुँचबाहिर छन्। विशेष गरी अपाङ्गता भएका बालबालिकालाई लक्षित गर्दै विविध कन्टेन्टहरू लाइब्रेरीमा समावेश गरिएको छ। यस अभियानमा काठमाडौंस्थित ओहो लर्निङ प्रा.लि.ले प्रविधिक सहयोग गरिरहेको छ। अटिजम केयर चितवन सोसाइटी, ओहो लर्निङ प्रा.लि. र विद्यालयहरूबीच त्रिपक्षीय सम्झौतामार्फत कार्यक्रम सञ्चालन भइरहेको छ।
विगत तीन वर्षदेखि भरतपुर र कालिकामा सञ्चालनमा रहेको यो परियोजना अहिले फेजआउट चरणमा पुगेको छ। यद्यपि परियोजना सम्पन्न भएपछि पनि विद्यालय र ओहो लर्निङबीच समन्वय गरी सहकार्यलाई निरन्तरता दिइने छ। विद्यालयहरूलाई आवश्यकता अनुसार ओरिएन्टेसन कार्यक्रमसमेत सञ्चालन गरिनेछ।

समावेशी शिक्षा परियोजना ह्याण्डीक्राफ्ट इन्टरनेशनलको प्राविधिक सहयोगमा सञ्चालित छ । परियोजनाका साझेदार संस्थाका रुपमा रहेका ह्याण्डीक्राफ्ट इन्टरनेशनलका परियोजना अधिकृत वीरेन्द्र थापाले यस कार्यक्रमले समावेशी शिक्षाको अभ्यासले सबै बालबालिकाहरुलाई शिक्षाको पहुँच सम्म जोड्न मद्दत पुगेको छ ।
भरतपुरस्थित नारायणी नमुना माध्यमिक विद्यालयमा आयोजित सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाका शिक्षा अधिकृत ऋषिराम शर्माले भने, “परियोजनाले विद्यालय सरसफाइदेखि गुनासो सुनुवाइ र प्रविधिमैत्री शिक्षण सिकाइ प्रक्रियामा ठुलो योगदान पुर्याएको छ।”
उनले परियोजना फेजआउट भए पनि त्यसअन्तर्गत सञ्चालित योजनाहरूलाई मर्न नदिने प्रतिबद्धता व्यक्त गरे।
कालिका नगरपालिकाले पनि यो परियोजनाले नगरक्षेत्रको सामुदायिक विद्यालयमा महत्वपूर्ण भूमिका खलेको जनाएको छ । नगर प्रमुख विनोद रेग्मीले समावेशी परियोजनाले खेलेको भूमिका प्रशंसागर्न लायक रहेको बताए । समावेशी परियोजना फेज आउटभएपनि यसले दिएको जिम्मेवारीलाई नगरपालिकाले इमान्दारीताका साथ कार्यान्वयनगर्ने बताए ।