विराटनगरमा नोबेलका चिकित्सक डेरा बसेको घरकै कम्पाउण्डमा मृत भेटिए

चैत १९ मोरङ । विराटनगरमा चिकित्सक मृत भेटिएका छन्।विराटनगरमा रहेको नोवेल अस्पतालमा कार्यरत २८ वर्षीय डा.विजय यादव आज बिहान आफू बस्ने गरेको घरमै मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको विष्णुपुर गाउँपालिकाका २७ वर्षीय विजय यादव विराटनगर ४ स्थित बस्दै आएको भाडाको घरमा शनिबार बिहान मृत भेटिएका हुन्।उनी नोबेल अस्पतालको हाड जोर्नी तथा नशा रोग विभागमा मेडिकल अफिसर थिए। यादव भाडामा बस्दै आएका घरको कम्पाउण्डभित्रै मृत भेटिएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

स्थानीय प्रेम बस्नेतको घरको दोस्रो तलामा बस्दै आएका यादव बिहान लडिरहेको अवस्थामा फेला परेको उनले बताए। बिहान करिब ७ बजे यादव घोप्टो परेको अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उनका नाक र मुखबाट रगत बगेको पाइएको जानकारी दिँदै प्रवक्ता श्रेष्ठले घटनाबारे अनुसन्धान अघि बढेको बताए।

नोबेलका प्रबन्धक नारायण दाहालका अनुसार यादव विगत ४ वर्षदेखि अस्पतालको हाडजोर्नी विभागमा कार्यरत थिए। अस्पतालले शुक्रबार मोरङको कटहरी गाउँपालिकामा सम्पन्न गरेको स्वास्थ्य शिविरमा यादव पुगेको प्रबन्धक दाहालले जानकारी दिए। शिविरबाट यादव घरमै फर्किएको जानकारी पाएको उनले बताए।

चिकित्सकको मृत्युको कारण खुलेको छैन। घरको दोस्रो तल्लाबाट हामफालेको हुनसक्ने प्रहरीको अनुमान छ। घटना यकिन गर्न प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको प्रवक्ता श्रेष्ठले बताए।यादवको शव विराटनगरको कोसी अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको छ।

यदुनन्द यादव र चन्द्रकला यादवका उनी एकमात्र सन्तान हुन् ।यादवको मृत्युको कारण खुलेको छैन।उनका आफन्तले भने डाक्टरको हत्या भएको दाबी गरेका छन्। उनीहरुले घटना अनुसन्धान गरी छिटोभन्दा छिटो सत्यतथ्य सार्वजनिक गर्न प्रहरीसँग माग गरेका छन्।

 

 

 

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु