विद्युत् निर्यातमा पाँच अर्बको मुनाफा, उत्पादन क्षमता झण्डै ३९ सय मेगावाट

लोडसेडिङ अब नेपालको विगतको कुरा : ऊर्जामन्त्री खड्का

काठमाडौं ,२८ साउन ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लोडसेडिङ अब नेपालको विगत भइसकेकाले यससम्बन्धी हल्ला निरर्थक भएको बताएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले अस्थायी अवरोधलाई प्रणालीगत सुधारमार्फत समाधान गरिएको र विद्युत् उत्पादन तीव्रगतिमा बढाइएको कारण अब लोडसेडिङ नहुने विश्वास व्यक्त गरे।

“नेपालले विद्युत् उत्पादन र बिक्री–वितरणमा गरेको उपलब्धिका आधारमा स्पष्ट रूपमा भन्न सकिन्छ, लोडसेडिङ अब नेपालको विगतको विषय भइसकेको छ,” मन्त्री खड्काले भने, “यसको पुनरावृत्ति कुनै सम्भावना छैन। कल्पना गर्नु पनि निरर्थक छ।”

उनका अनुसार छिमेकी मुलुकमा विद्युत् निर्यात बढाउन दीर्घकालीन रणनीतिक योजना तयार गरिएको छ। हाल देशभर नियमित विद्युत् आपूर्ति भइरहेको र कतिपय स्थानमा देखिएका अस्थायी समस्या समाधान भइसकेका छन्।

गत वर्ष मात्र नेपालले भारतमा २३८० मेगावाट र बङ्गलादेशमा ३० मेगावाट विद्युत् निर्यात गरेको मन्त्री खड्काले जानकारी दिए। हाल विद्युत् निर्यातबाट १७ अर्ब ७२ करोड रुपैयाँ आम्दानी भएको छ भने १२ अर्ब ९२ करोड रुपैयाँ बराबरको जलविद्युत् आयात भइरहेको छ। यसरी नेपालले झण्डै पाँच अर्ब रुपैयाँ बराबरको मुनाफा लिइरहेको छ।

मन्त्री खड्काका अनुसार आफूले मन्त्रालय सम्हाल्दा विद्युत् जडित क्षमता करिब ३२०० मेगावाट रहेकोमा हाल सो क्षमता बढेर झण्डै ३९०० मेगावाट पुगेको छ। प्रतिव्यक्ति विद्युत् खपत ४०० युनिटबाट बढेर करिब ४६० युनिट पुगेको छ।

वर्तमान अवस्थामा देशको अधिकतम विद्युत् माग करिब २४०० मेगावाट रहेको र वर्षायाममा उत्पादन मागभन्दा बढी हुने खड्काले बताए। हाल आन्तरिक खपतपश्चात करिब ९०० मेगावाट भारतमा निर्यात भइरहेको र निकट भविष्यमा यो परिमाण बढ्ने उनले उल्लेख गरे। अहिले १२०० मेगावाट निर्यातको अनुमति भइसकेको छ भने ४० मेगावाट विद्युत् बङ्गलादेश पठाइँदै छ।

मन्त्री खड्काले ऊर्जा क्षेत्रमा दीर्घकालीन र पारदर्शी नीति, लगानी परिचालन र संस्थागत निरन्तरतालाई प्राथमिकता दिँदै मन्त्रालय अघि बढिरहेको स्पष्ट पारे। उनका अनुसार मुलुकका केही क्षेत्रबाहेक देशभर सहज विद्युत् आपूर्ति भइरहेको छ।

Share:

सम्बन्धित समाचारहरु