राप्रपाको प्रदर्शन लक्षित गर्दै काठमाडौंमा सुरक्षा सतर्कता, निषेधित क्षेत्रमा बल प्रयोगको चेतावनी


काठमाडौं, ७ वैशाख । राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्र घोषणाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा गर्ने प्रदर्शनलाई लक्षित गर्दै राजधानीमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ।

प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, संसद भवन नयाँबानेश्वर, माइतीघर मण्डला, प्रधानमन्त्री निवास बालुवाटार, राष्ट्रपतिको कार्यालय लगायत क्षेत्रमा अघिल्ला दिनहरूको तुलनामा आज सुरक्षाकर्मीको उपस्थिति उल्लेखनीय रूपमा बढेको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी टेक तामाङले राप्रपाको प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा रणनीति तयार गरिएको जानकारी दिए। “प्रदर्शनलाई शान्तिपूर्ण बनाउने प्रयास हाम्रो रहन्छ,” उनले भने, “तर निषेधित क्षेत्र तोड्न खोजेमा बल प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ।”

उनका अनुसार विभिन्न संवेदनशील क्षेत्रमा आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। निषेधित क्षेत्रभित्र प्रवेश रोक्न सुरक्षा निकाय पूर्ण रूपमा तयार रहेको बताइएको छ।

राप्रपाको शान्तिपूर्ण र सीमित प्रदर्शनको तयारी

राप्रपाले आज बिहान ११ बजे काठमाडौंको बिजुलीबजारबाट शान्तिपूर्ण प्रदर्शन गर्ने जनाएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक सञ्जालमार्फत सरकारलाई आन्दोलनबाट नडराउन आग्रह गर्दै यो प्रदर्शन ‘प्रतिकात्मक’ हुने बताएका छन्।

“भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल, योयो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआऊ भनेर सीमा तोक्ने सरकारी निरंकुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो,” लिङ्देनले लेखेका छन्। “जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौं।”

यसअघि राप्रपाले निषेधित क्षेत्र तोड्ने निर्णय गरेको थियो। सोही निर्णयप्रति गृह मन्त्रालयले ध्यानाकर्षण भएको जनाउँदै कानूनअनुसार कारबाही हुने चेतावनी दिएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु