सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले लहान नगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आदेश हटाएको छ।
जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको समीक्षा तथा विश्लेषणपछि कर्फ्यु हटाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आइतबार बिहान १० बजेदेखि कर्फ्यु आदेश हटाइएको हो।
सुनसरी घटनापछि उत्पन्न तनावका कारण लहान क्षेत्रमा केही दिनयता आन्दोलन चर्किएको थियो। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रशासनले कर्फ्यु लागू गरेको थियो। कर्फ्यु हटाइएपछि लहानको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। सर्वसाधारणको आवतजावत सुचारु हुन थालेको छ भने बजार, पसल तथा अन्य व्यावसायिक गतिविधिहरू पनि सञ्चालनमा आउन थालेका छन्।
यसैबीच, सामाजिक सद्भाव र शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले आज दिउँसो ३ बजे लहानमा सद्भाव र्याली आयोजना गर्ने तयारी भइरहेको स्थानीय प्रशासनले जनाएको छ।

–00–

