सरकार र उखु किसानबीचको वार्ता निष्कर्षविहीन, आन्दोलनको स्वरुप परिवर्तन गर्न सक्ने संकेत

काठमाडौं । सरकार र उखु किसानबीच शुक्रबार सिंहदरबारमा भएको वार्ता निष्कर्षविहीन रहेको छ। उखु किसान संघर्ष समितिका प्रवक्ता उमेशचन्द्र यादवले वार्तामा कुनै सहमति नआएको जानकारी दिए।

वार्तामा कृषिमन्त्री रामनाथ अधिकारीले केही दिन आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरेका थिए भने संघर्ष समितिले आन्दोलन नरोकिने तर आन्दोलनको स्वरुप परिवर्तन गर्न सकिने जवाफ दिएको थियो।

वार्तामा किसानहरूले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिनुपर्ने माग राखेका थिए। यादवका अनुसार, कृषि मन्त्रालयले वार्षिक बजेटमा २ अर्ब रुपैयाँ उखु किसानको अनुदानका लागि छुट्याइसकेको भएपनि अर्थ मन्त्रालयले बजेट रोकेको छ।

प्रवक्ता यादवले भने, “उखु किसानको ७५ करोड रुपैयाँ निकासा भइसकेको अवस्थामा दशैंअघि अर्को ७५ करोड निकासा गर्नुपर्ने बटमलाइन रहेको छ।” उखु किसान संघर्ष समितिले शनिबार ११ बजे माइतीघरमा पत्रकार सम्मेलन गरी आन्दोलनको आगामी स्वरुपबारे जानकारी दिने तयारी गरिरहेको छ।–00–

Share:

सम्बन्धित समाचारहरु