डोटी,१७ वैशाख । डोटीको जोरायल गाउँपालिकामा मंगलबार राति एक विद्युतीय हाइस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटना राति करिब ११:३० बजे जोरायल गाउँपालिका–२ मेलखोलास्थित भीमदत्त राजमार्गमा भएको हो। कैलालीको धनगढीबाट बैतडीको पुर्चौडीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ज ०५६७ नम्बरको विद्युतीय हाइस अनियन्त्रित भई करिब ५० देखि ६० मिटर तल खसेको थियो।
दुर्घटनामा बैतडीको डिलासैनी गाउँपालिका–४ निवासी ४५ वर्षीय हर्क बहादुर नेगी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा घाइते हुने अन्य यात्रुहरूमा डिलासैनी–४ का २७ वर्षीय धिरेन्द्र नेगी, ४४ वर्षीय जगदीश जोशी, ५३ वर्षीय राम बहादुर नेगी, ६५ वर्षीया धना नेगी, र चालक करिब २४ वर्षीय अशोक बम रहेका छन्। सबै घाइतेको अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।–0–


