राजतन्त्रको पक्षमा उभिनेहरूको मानसिकता दासत्वको : प्रधानमन्त्री ओली

काठमाडौं,१९ जेठ  । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक सर्वोच्चताको अवधारणा छाडेर राजतन्त्रको समर्थन गर्नेहरू दास मानसिकताबाट ग्रस्त रहेको टिप्पणी गरेका छन्।

आइतबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एक परिवारले सधैं शासन गर्न पाउनु पर्ने सोच राख्नेहरूमा ‘मानसिक दरिद्रता’ देखिएको बताए। “कस्तो मानसिक दरिद्रता ? आजका शिक्षित, समाचार सुन्ने, अध्ययन गर्ने मानिसले पनि यस्तो कुरा गर्नु दुःखद छ,” प्रधानमन्त्री ओलीले भने, “चीन, भारत, अमेरिका जस्ता ठूला मुलुक निर्वाचित जनप्रतिनिधिद्वारा सञ्चालित छन्। केही देशमा राजतन्त्र नाम मात्रको औपचारिक हैसियतमा सीमित छ। दुनियाँमा राजतन्त्रको न त वैज्ञानिक आधार छ, न त न्यायिक औचित्य।”

प्रधानमन्त्री ओलीले राजतन्त्रको माग गर्दै सडकमा उत्रिनेहरू प्रति कटाक्ष गर्दै यस्तो चेतनास्तर देख्दा आफूलाई दया मात्र लाग्ने बताए।

“स्कुल क्याम्पस गएकाहरू, समाचार सुन्नेहरू, विश्व देखेकाहरू पनि राजतन्त्रको पक्षमा उभिनु दुःखद हो। नागरिक सर्वोच्चता जस्ता लोकतान्त्रिक मूल्य र सिद्धान्त त्यागेर एउटा वंशले शासन गर्नुपर्छ भन्ने सोच हामीले कहिल्यै स्वीकार गर्न सक्दैनौं,” ओलीले जोड दिए।

उनले अहिलेको युगमा जनप्रतिनिधिद्वारा सञ्चालन हुने शासन प्रणाली नै समयसापेक्ष र न्यायपूर्ण व्यवस्था भएको स्पष्ट पारे।

Share:

सम्बन्धित समाचारहरु