काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको विगतको गम्भीर समीक्षा गर्दै नयाँ कार्यदिशाका साथ अघि बढ्नुपर्ने बताएका छन् ।
२४औँ बोत्ले स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले विगतका गल्ती र कमजोरीको समीक्षा गरी कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगबाट अघि बढाउनुपर्ने बताएका हुन् ।
उनले विगतको समीक्षा, गम्भीर विमर्श र आत्मसमीक्षामार्फत आगामी कार्यदिशा, नीति तथा कार्यक्रम तय गर्नुपर्ने आवश्यकता रहेको बताए ।
‘झण्डै दुई तिहाइको भनिएको सरकारका काम, कारबाही र क्रियाकलापले जनतामा सन्त्रास पैदा गरेको छ,’ उनले भने, ‘हामीले विगतको समीक्षा गर्ने, गम्भीर रूपले विमर्श गर्ने, त्यसको आत्मसमीक्षा गर्ने र अगाडिका लागि फेरि कार्यदिशा बनाउने, कार्यक्रम र नीति निर्धारण गर्ने मुख्य आवश्यकता हो ।’
प्रचण्डले पुरानै शैली र तरिकाबाट कम्युनिस्ट आन्दोलन अघि बढ्न नसक्ने भन्दै नयाँ ढंगबाट अघि बढ्नुपर्नेमा जोड दिए । उनले कम्युनिस्ट आन्दोलनका विभिन्न चरणमा नेतृत्व गरेका नेताहरूले पनि मूलतः यिनै विषयको वरिपरि विचार व्यक्त गरेको बताए ।
‘हामीले इतिहासको समीक्षा गर्नुपर्दछ, हाम्रा गल्ती कहाँ भए भन्ने कुराको विमर्श गर्नुपर्दछ र अगाडि जाने सङ्कल्प गर्नुपर्दछ,’ उनले भने, ‘निराश हुनुपर्ने कारण छैन ।’ इतिहासका अनुभवबाट शिक्षा लिएर आगामी दिनमा दृढ संकल्पका साथ अघि बढ्नुपर्ने प्रचण्डको भनाइ थियो ।
फाइल तस्विर ।


