रास्वपाले समानुपातिक उम्मेदवार आह्वान गर्दै नयाँ मापदण्ड सार्वजनिक

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फका उम्मेदवारहरू आह्वान गरेको छ।

सौराहामा दुई दिनसम्म बसेको केन्द्रीय समितिको विस्तारित बैठकले पारित गरेको १० बुँदे निर्णय सार्वजनिक गर्दै पार्टीले उम्मेदवार आह्वान गरेको हो। बैठकमा सहमहामन्त्री विपिनकुमार आचार्यले प्रस्तुत गरेको उम्मेदवार छनोटको रूपरेखालाई आधार मानेर यो निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।

रास्वपाले समानुपातिक सांसद बन्नका लागि यसपटकका मापदण्डलाई अझ कडा र पारदर्शी बनाएको जनाएको छ।

रास्वपाबाट समानुपातिक सांसद बन्नका मापदण्ड

१. उम्मेदवारले सार्वजनिक पदको दुरुपयोग नगरेको, शैक्षिक प्रमाणपत्र प्रमाणीकरण, वैवाहिक अवस्थाको वैधता, घृणात्मक अभिव्यक्ति, दुर्व्यवहार वा धम्की नगरेको, जातीय वा लिंग आधारमा अपमान वा शोषण नगरेको, र परिवारको आधारभूत आवश्यकताहरू पूरा गर्न सक्ने नियमित आम्दानी भएको भन्ने स्वघोषणा अनिवार्य गर्नुपर्नेछ।

२. उम्मेदवार छनोट प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्न पार्टीले अडिट समिति गठन गर्नेछ। यस समितिले प्रारम्भिक निर्वाचन, मतदाता नामावली, मतदान, मतगणना र नतिजा प्रकाशनसम्बन्धी सम्पूर्ण प्रक्रिया पारदर्शी र निष्पक्ष रहेको वा नरहेको मूल्याङ्कन गर्नेछ।

३. परम्परागत समानुपातिक बन्दसूचीलाई परिमार्जन गर्दै रास्वपाले यसपटक जातीय क्लस्टरसँगै जनसांख्यिक र प्रादेशिक अनुपातका आधारमा ११० जना उम्मेदवारको सूची निर्माण गर्नेछ। यसले प्रदेशगत समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने पार्टीको दाबी छ।

४. २५ देखि ४० वर्षसम्मका युवाहरूका लागि २७ प्रतिशत प्रतिनिधित्व र विदेशबाट फर्केका नेपालीका लागि १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको छ। यस व्यवस्थालाई पार्टीले “जेन–जी स्पिरिटको प्रतिनिधित्व” को रूपमा व्याख्या गरेको छ।

५. प्रतिनिधिसभा सदस्यको २०७९ को निर्वाचनमा समानुपातिकतर्फबाट सांसद बनेका सदस्यहरूले यसपटक अर्थात् २०८२ फागुन २१ को निर्वाचनमा समानुपातिक उम्मेदवारी दिन नपाउने व्यवस्था गरिएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु