हनी ट्रयापमार्फत ५ लाख असुलेको आरोपमा दुई महिला पक्राउ

काठमाडौँ, ८ जेठ । हनी ट्रयापमा पारेर रकम असुलेको आरोपमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौँ महानगरपालिका–५ बस्ने ३४ वर्षीया ममता तामाङ र भक्तपुर नगरपालिका–१७ की ३४ वर्षीया आँचल श्रेष्ठ उर्फ आँचल चौगुठी रहेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार, उनीहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत पीडितसँग सम्पर्क बढाएर ठगी योजना बनाएका थिए।

पीडितलाई ठमेलस्थित होटलमा बोलाई खाजा र मादक पदार्थ सेवन गराइएपछि अचेत अवस्थामा पुर्‍याई अश्लील फोटो तथा भिडियो खिचिएको प्रहरीले जनाएको छ। त्यसपछि ती सामग्री मेसेन्जरमार्फत पठाउँदै “काठमाडौँमा घर र चार आना जग्गा दिनुपर्छ, नत्र यौनशोषणको मुद्दा लगाइदिन्छौं” भन्दै धम्की दिइएको थियो।

दबाब दिँदै पीडितसँग तत्काल पाँच लाख रुपैयाँ बराबरको चेक पनि कटाइएका थिए। प्रहरीका अनुसार ती चेक प्राइम कमर्सियल बैंकमा आँचल चौगुठीको नाममा काटिएको हो।

दुवै महिलालाई प्रहरीले बुधबार काठमाडौँ महानगरपालिका–११ स्थित हनुमानस्थानबाट पक्राउ गरेको हो। उनीहरूको साथबाट २ थान मोबाइल फोन र पाँच लाख रुपैयाँको चेक बरामद गरिएको छ।

प्रहरी उपरीक्षक आचार्यले उनीहरूमाथि आपराधिक लाभ (Extortion) सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको जानकारी दिएका छन्।

Share:

सम्बन्धित समाचारहरु