जनकपुरधाम, २० चैत । धनुषाको लालगढबाट एक जना सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा सशस्त्र प्रहरी बलका निरीक्षक ओकिल अधिकारी रहेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएको टोलीले आज बिहान उनलाई लालगढबाट नगद ४० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण आयोजनाअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा संलग्न सवारी साधनहरूलाई अनावश्यक रूपमा रोक्ने, काममा अवरोध सिर्जना गर्ने तथा सेवाग्राहीसँग रकम माग्ने गरेको उजुरी परेपछि निगरानी बढाइएको थियो। सोही क्रममा घुस लिइरहेको अवस्थामा अधिकारीलाई रंगेहात पक्राउ गरिएको स्रोतले जनाएको छ।
प्रारम्भिक अनुसन्धानबाट उनले निर्माण कार्यमा संलग्न पक्षहरूलाई दबाब दिँदै आर्थिक लाभ लिन खोजेको देखिएको अख्तियारको भनाइ छ। पक्राउ परेका अधिकारीलाई थप अनुसन्धानका लागि बर्दिबास लगिएको छ।
अख्तियारले घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जनाउँदै संलग्न अन्य व्यक्ति भए/नभएको विषयमा समेत छानबिन भइरहेको जनाएको छ। साथै सार्वजनिक निर्माण कार्यमा अनियमितता वा भ्रष्टाचारका गतिविधि देखिएमा तत्काल जानकारी गराउनसमेत सर्वसाधारणलाई आग्रह गरिएको छ।–00—
तस्विरः एआई
