रेशम सापकोटा – सेतो नेपाल
चितवन, २७ साउन । जिल्लाभरका उद्योगी, व्यापारी तथा व्यवसायिक समुदायको साझा संस्थाका रूपमा स्थापित चितवन उद्योग वाणिज्य सङ्घ २०१६ सालमा संस्थापक अध्यक्ष स्व. सूर्यनारायण पियाको नेतृत्वमा गठन भएको हो।
स्थापना कालदेखि नै व्यवसायको हक–हित संरक्षण, दिगो व्यापारिक वातावरण निर्माण र उद्योग, वाणिज्य तथा पर्यटनको प्रवर्द्धनमा यस सङ्घले अग्रणी भूमिका खेलेको छ।

विगतमा चितवन उद्योग वाणिज्य सङ्घका निर्णय र गतिविधिहरू राष्ट्रियस्तरमा चर्चित हुने गर्थे — चाहे त्यो व्यवसायसँग सम्बन्धित नीति पहलकदमी होस्, चाहे ‘चितवन महोत्सव’ जस्ता ठूलो जनआकर्षणका कार्यक्रम होस्, वा केरा खेती, माछापालन, पोल्ट्री व्यवसाय, तोरी खेतीजस्ता क्षेत्रलाई प्रवर्द्धन गर्ने गोष्ठी र सेमिनार। सङ्घले लघु तथा मध्यम उद्योगहरूलाई प्रोत्साहन, नवउद्यमीलाई सहयोग, सीप विकास तालिम र बजार विस्तारका कामलाई प्राथमिकतामा राख्दै आएको इतिहास छ।
हालका अध्यक्ष सुमन कुमार श्रेष्ठ संघका २२औँ अध्यक्षका रूपमा कार्यरत छन्। २०८२ सालको पौष महिनाभित्र अधिवेशन सम्पन्न गर्दै संघले २३औँ अध्यक्षसहित सम्पूर्ण कार्यसमिति चयन गर्ने तयारी गरिरहेको छ।
तर पछिल्ला वर्षहरूमा व्यवसायी समुदायमा संघको भूमिकाप्रति मिश्रित प्रतिक्रिया आएका छन्। धेरै व्यवसायीहरूका अनुसार संघ अहिले पूर्ववत् रूपमा नीति निर्माण, व्यवसाय विस्तार र उद्यमशीलता प्रवर्द्धनमा केन्द्रित हुनुभन्दा बढी अध्यक्ष पदको प्रतिस्पर्धा र चितवन महोत्सव आयोजनामा मात्र सीमित देखिन्छ।
केही नयाँ व्यवसायीहरू नाम नखुलाउने सर्तमा भन्छन् — “यो संस्था विगतमा हरेक क्षेत्रमा सक्रिय थियो, तर अहिले हाटबजारजस्तो मात्रै भएको छ।
महोत्सव ल्याउने र अधिवेशन गर्ने बाहेकका नियमित नीति–गत गतिविधि कमजोर भएका छन्।” उनीहरूका अनुसार संघ भित्र पछिल्लो समय ‘मासिक बैठक बस्ने बाहेक अन्य गतिविधि गर्न नसकेकोले संस्थाको मूल उद्देश्य कमजोर भएको देखिन्छ।’
व्यवसाय न जातसँग, न धर्मसँग, न राजनीतिक आस्थासँग सम्बन्धित हुन्छ। यो त निस्वार्थ रूपमा व्यवसायीको हक–हितका लागि आवाज बुलन्द गर्ने संस्था हो भन्ने मान्यता छ। तर, अध्यक्ष पदमा पुगेपछि राजनीतिक पहुँच विस्तार गर्न सहज हुने भएकाले राजनीतिक हस्तक्षेप बढेको व्यवसायीहरूको अनुभव छ। यसले गर्दा नयाँ पुस्ताका व्यवसायीलाई संस्थामा जोड्ने र उनीहरूलाई नेतृत्वमा ल्याउने प्रक्रिया कमजोर भएको टिप्पणी गरिन्छ।
अधिवेशनमा केवल अध्यक्ष मात्र होइन, सम्पूर्ण कार्यसमिति नै चयन हुने भएकाले व्यवसायीहरू भन्छन् — “यो पटक नेतृत्वमा जोसिलो, प्रगतिशील सोच भएको, व्यवसाय वृद्धिमा सक्रिय र वर्तमान परिस्थितिको गहिरो बुझाइ भएको युवा आउनुपर्छ। कार्यसमितिमा दक्ष सदस्य र अध्यक्षको संयोजन भए मात्र संघले आफ्नो पुरानो गौरव पुनःस्थापना गर्न सक्छ।”
व्यवसायीहरू भन्छन्, यदि नेतृत्व फेरि पनि पदमा बस्ने मोह छोड्न नसक्ने तर व्यवसायलाई आवश्यक ध्यान दिन नसक्ने व्यक्तिहरूकै हातमा रह्यो भने संघको गति फेरि कमजोर हुनेछ।
त्यसैले, अबको अधिवेशनलाई व्यवसायी समुदायले केवल पदको प्रतिस्पर्धा होइन, संघलाई सही हातमा जिम्मेवारी सुम्पेर चितवनको व्यवसाय — माछापालन, पोल्ट्री, कृषि–उद्योग, लघु तथा मध्यम उद्योग, व्यवसाय र अन्य सम्भावनायुक्त क्षेत्रमा पुनः उत्थान गर्ने ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने आवाज बलियोसँग उठ्न थालेको छ।
हजारौं युवा दैनिक विदेश पलायन भइरहेको वर्तमान परिस्थितिमा, देशमै केही गर्ने अठोटका साथ व्यापार–उद्योग सञ्चालन गरी रोजगारीको सिर्जना गर्ने युवाहरूलाई यस वा त्यो बहानामा नेतृत्वबाट बञ्चित गरिनु अन्यायपूर्ण भएको व्यवसायीहरूको तर्क छ। बरु, समय र लगनको अभावले बिस्तारै व्यवसायबाट टाढिँदै जाने, वा केवल समय बिताउने थलोका रूपमा मात्र व्यवसाय हेर्ने व्यक्तिहरू राजनीतिक पहुँचको भरमा नेतृत्वमा पुग्ने प्रवृत्तिले संघको गरिमा घटाउने खतरा देखिएको छ।
त्यसैले व्यवसायबाट पलायनको सोच राख्ने व्यक्तिहरूले व्यवसायिक संस्थाको नेतृत्व सम्हाल्दा, के उनीहरू साँच्चै व्यवसाय प्रवर्द्धन गर्न सक्छन्? व्यवसायिक सङ्घ–संस्थामा राजनीतिक हस्तक्षेप कत्तिको जायज हो? — भन्ने प्रश्न व्यवसायी समुदायमा तीव्र रूपमा उठ्न थालेका छन्। अब सबै आम व्यवसायीले गहिरो सोच–विचार गर्ने बेला आएको छ ।–00–


