माडीमा गैडा मृत्युपछि भएको प्रदर्शनलाई लिएर प्रहरी र स्थानीयबीच झडप

चितवन, २३ साउन । चितवनको माडी नगरपालिका–२, भैरवपुरमा गैडा मृत्युपछि प्रहरीले स्थानीय एक किसानलाई पक्राउ गरेको विरोधमा आज साँझ स्थानीय र प्रहरीबीच झडप भएको छ।

साउन २१ गते राति भैरवपुरमा हरिभक्त श्रेष्ठको खेतमा थापिएको विद्युतीय धरापमा परेर एक गैडा मृत अवस्थामा फेला परेको थियो। सो घटनालाई लिएर निकुञ्ज प्रशासनले श्रेष्ठलाई पक्राउ गरेपछि स्थानीयवासी आन्दोलित बनेका हुन्।

आज दिउँसो आक्रोशित स्थानीयले चक्काजाम तथा मशाल जुलुस निकालेका थिए। प्रहरीले मशाल जुलुसमा हस्तक्षेप गर्ने प्रयास गर्दा दुवै पक्षबीच झडप भएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी रविन्द्र खनालका अनुसार प्रदर्शनका क्रममा सामान्य झडप भए पनि कसैलाई पक्राउ गरिएको छैन। घाइतेसम्बन्धी कुनै विवरण इलाका प्रहरी कार्यालयले प्राप्त नगरेको उनले जानकारी दिए।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले गैंडालाई विद्युतीय धराप प्रयोग गरी मार्नु वन्यजन्तु संरक्षण ऐन विपरीतको कार्य भएको बताए। घटनाको गम्भीरताका आधारमा अनुसन्धान भइरहेको जनाइएको छ।

त्यसैदिन मकवानपुरको मनहरी गाउँपालिका–६ मा पनि विद्युतीय धरापमा परेर जग्गाधनी लालबाबु मोक्तानको मृत्यु भएको थियो। –00–

 

Share:

सम्बन्धित समाचारहरु