चितवनको सौराहामा ६० हात्तीलाई ‘वनभोज’ — अन्तर्राष्ट्रिय हात्ती दिवसमा विशेष कार्यक्रम

मेघनाथ चौधरी । सेतोनेपाल –

सौराहा, २७ साउन । चितवनको पर्यटकीय केन्द्र सौराहामा अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा विशेष ‘वनभोज’ कार्यक्रम आयोजना गरिएको छ ।

मंगलबार बागमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको परिसरमा भएको कार्यक्रममा सरकारी र निजी मिलाएर ६० वटा हात्ती सहभागी भए ।

युनाइटेड हात्ती संचालन सहकारी संस्था लिमिटेडको आयोजनामा भएको वनभोजमा हात्तीलाई उखु, गाजर, बन्दा, ड्रागन फल, स्याउ, फर्सी लगायत मनपर्ने विभिन्न परिकार खुवाइयो ।

सहकारीका अध्यक्ष दीपेन्द्र प्रसाद खतिवडाका अनुसार, एकै पटक सबै प्रकारका खानेकुरा खुवाउँदा हात्तीले सबैको स्वाद लिन पाउने भएकाले यसलाई ‘वनभोज’ नाम दिइएको हो ।

“जसरी हामी वनभोज खान जाँदा रमाउँछौँ, त्यसरी नै हात्तीलाई मनपर्ने खानेकुरा खुवाउँदा हात्ती पनि खुसी हुन्छन्,” खतिवडाले भने, “यो केवल रमाइलो मात्र होइन, राम्रो स्याहार र माया दिनुपर्छ भन्ने सन्देश पनि हो।” उनका अनुसार, हात्तीलाई काम मात्र लगाउने होइन, पालनपोषण र स्नेह दिनु आवश्यक छ भन्ने सन्देश यो कार्यक्रममार्फत प्रवाह गर्न खोजिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले हात्तीबिना निकुञ्जको संरक्षणको कल्पना गर्नै नसकिने बताए । उनका अनुसार, नेपालमा जंगली हात्तीको संख्या क्रमशः बढ्दै गएको छ र यसका संरक्षण तथा व्यवस्थापनमा थप ध्यान दिनुपर्ने आवश्यकता छ ।

सौराहा चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र यससँगै बग्ने नदी किनारमा रहेका वन्यजन्तु, चराचुरुङ्गी र जलचर अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटकको लोकप्रिय गन्तव्य मानिन्छ ।

अन्तर्राष्ट्रिय हात्ती दिवसका अवसरमा भएको यो वनभोजले पर्यटक र हात्तीबीचको सम्बन्धलाई अझ आत्मीय बनाउन योगदान गरेको आयोजकको भनाइ छ ।–00–

 

Share:

सम्बन्धित समाचारहरु