गैँडाकोट, ३० पुस । नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा जारी चौथो गैँडाकोट महोत्सव बुधबार १० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् ।
महोत्सवका प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाका अनुसार पुस २५ गतेदेखि सुरु भएको महोत्सवमा दिनप्रतिदिन दर्शकको आकर्षण बढ्दै गएको छ । बुधबार मात्रै १० हजारभन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेका उनले जानकारी दिए ।
महोत्सवमा ओपेरा हाउस, जलपरी, मुस्ताङको चौरीलगायतका आकर्षणले दर्शकको मन जितेको सापकोटाले बताए । साथै, महोत्सवस्थल नजिकै नारायणी नदीमा नेपालकै पहिलो क्रुजशिप समेत सञ्चालनमा ल्याइएको छ ।
बुधबार आयोजित सांस्कृतिक कार्यक्रममा चर्चित गायिका प्रिती आलेसहितका कलाकारहरूको प्रस्तुति रहेको थियो । महोत्सवका सांस्कृतिक संयोजक किशोर लम्सालका अनुसार प्रिती आलेले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेकी थिइन् । सो अवसरमा भजन प्रतियोगिता पनि सञ्चालन गरिएको उनले बताए ।

स्थानीय कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले भजन प्रतियोगिता आयोजना गरिएको लम्सालको भनाइ छ । सांस्कृतिक कार्यक्रमअन्तर्गत माघ १ गते बिहीबार माघेसंक्रान्तिको अवसरमा चर्चित गायक शिव परियारसहित रितु कँडेल, रितु थापा, कुशल बेलसासे लगायत कलाकारहरूको प्रस्तुति रहनेछ ।
बिहीबारको सांस्कृतिक कार्यक्रम कलाकार तथा प्रस्तोता दीपक खड्काले सञ्चालन गर्ने जानकारी लम्सालले दिए ।

स्थानीय कृषि तथा घरेलु उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले आयोजना गरिएको यो महोत्सव माघ १० गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा करिब दुई लाख दर्शकले अवलोकन गर्ने र २५ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने आयोजकको अनुमान रहेको छ । महोत्सव अवलोकनका लागि सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ७० रुपैयाँ टिकट शुल्क तोकिएको छ । आयोजक जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटले ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्ग व्यक्ति र शैक्षिक संस्थामार्फत सहभागी हुने विद्यार्थीहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरेको जनाएको छ ।–00–


