डोटी, ६ असार । डोटीको आदर्श गाउँपालिका–१ खिराधारा धौलामाटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
सुप्रप–०१००१ज १३९५ नम्बरको जिप दिपायलबाट मौवातर्फ जाँदै गर्दा आज दिउँसो १:४० बजे सडकको घुम्तीमा अनियन्त्रित भई करिब २५० मिटर तल खसेको थियो। मृत्यु हुनेमा सायल–४ की ४१ वर्षीया देवी विक, चालक आदर्श–७ का २७ वर्षीय सुरेश कार्की र सायल–६ की ३५ वर्षीया काली कटुवाल छन्। काली गर्भवती थिइन्।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ भने एक जनाको अवस्था मध्यम रहेको छ। उनीहरूको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।


