चितवन, १२ साउन ।
चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि गत आर्थिक वर्ष संघीय र प्रदेश सरकारले विनियोजन गरेको साढे १० करोड रुपैयाँ बजेट फ्रिज भएको छ।
निर्माण जिम्मा लिएको हिमायन कालिञ्चोक बीबीआर जेभीले काममा ढिलाइ गर्दा संघीय सरकारबाट विनियोजन गरिएको ७ करोड ३४ लाख र बागमती प्रदेश सरकारले दिएको ३ करोड २० लाख रकम खर्च हुन नसकेको हो। संघीय सरकारले २५ करोडमध्ये १७ करोड ६५ लाखमात्र खर्च गरिएको छ भने प्रदेश सरकारले १० करोडमध्ये ६ करोड ८० लाख मात्रै उपयोग भएको छ। समग्रमा गत आर्थिक वर्षमा ६९.८७ प्रतिशत मात्र बजेट खर्च गरिएको छ।
महानगरको असन्तुष्टि –
भरतपुर महानगरले ठेकेदार कम्पनीको कामप्रति निराशा व्यक्त गर्दै काममा तीव्रता दिन पटक–पटक आग्रह गरे पनि प्रगति मात्र ३० प्रतिशतमै सीमित रहेको छ।
महानगर प्रमुख रेनु दाहालले जेठ १० गते ठेकेदार कम्पनीलाई रकम फ्रिज हुन नदिन आग्रह गरेकी थिइन्। तर निर्माण स्थलमा कामदारको अभाव, सामग्री ढुवानीको ढिलाइ र व्यवस्थापन कमजोरीले प्रगति न्यून रह्यो।
निर्माणको ढिलाइ र चुनौती –
रंगशालामा ५ वटा पिच निर्माण गरिने भए पनि मैदान तथा पिचको काम दशैंपछि मात्रै सुरु हुने बताइएको छ। अहिले निर्माणस्थलमा करिब ९० जना कामदार मात्र खटिएका छन्।
चालु आर्थिक वर्षमा संघीय सरकारको बजेट छैन –
संघीय सरकारले यो आर्थिक वर्षमा रंगशालाका लागि बजेट विनियोजन गरेको छैन भने बागमती प्रदेशले ९ करोड र भरतपुर महानगरले ४ करोड छुट्याएका छन्।
पूर्वमा धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण थालेको रंगशालालाई महानगरले स्वामित्व लिई पुनः निर्माण कार्य अघि बढाएको हो।
२०७८ मा रोकिएको काम २०७८ साउन २२ पछि फेरि ठेक्कामार्फत ७८ करोडको लागतमा सुरु गरिएको हो।
–00–

