चितवन र धादिङमा विद्युतीय उपकरण जडान : विपद् सूचना अब तुरुन्तै सशस्त्र प्रहरीलाई

काठमाडौँ,  २० साउन। विपद्का घटना र आकस्मिक दुर्घटनाको तुरुन्त जानकारी दिन सशस्त्र प्रहरी बल नेपालले चितवनको सिमलताल र धादिङको चरौँदी क्षेत्रमा विद्युतीय सूचना उपकरण जडान गरेको छ।

सशस्त्र प्रहरी बल र लुना जीपीएस कम्पनीको सहकार्यमा शुरु गरिएको यो प्रविधिमार्फत दुर्घटना भएका स्थानको तत्काल सूचना कुरिनटारस्थित सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालयमा पुग्नेछ। सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, “दुर्घटना भएको खण्डमा उक्त स्थानमा रहेका स्थानीय वा घटना देखेका व्यक्तिले हरियो बटन १० सेकेण्डसम्म थिचेपछि, तालिम केन्द्रमा रहेको साइरन बज्ने र ‘मोनिटर’मा ठीक स्थानसहित जानकारी देखिनेछ।”
यसरी प्राप्त सूचना आधारमा सुरक्षा फौज तत्काल उद्धारका लागि परिचालन गरिनेछ।

स्थानीयलाई प्रयोगबारे जानकारी-

सशस्त्र प्रहरीका अनुसार, उपकरण जडान गरिएका दुवै स्थानमा स्थानीय बासिन्दालाई प्रयोग विधिसमेत सिकाइएको छ। यसैबीच, नारायणघाटदेखि नागढुङ्गासम्मका यात्रु तथा स्थानीयले चाहेको खण्डमा लुना जीपीएसको मोबाइल एप ‘Luna SOS’ डाउनलोड गरी घटना जानकारी दिन सक्नेछन्।

थापाका अनुसार, “एपमा रहेको एसओएस बटन थिचेपछि चारवटा विकल्पहरू — एम्बुलेन्स, बाढीपहिरो, आगलागी र दुर्घटना देखिन्छन्। जुन प्रकारको घटना हो, त्यही विकल्प थिचेपछि उक्त प्रयोगकर्ताको विवरणसहित जानकारी तालिम शिक्षालयमा प्राप्त हुन्छ।”

उक्त एप अफलाइनमै पनि कार्यान्वयनमा ल्याउन सकिने भएकाले, नेटवर्क समस्याको अवस्थामा समेत सूचना आदानप्रदानमा अवरोध नहुने बताइएको छ।

सशस्त्र प्रहरी बलका अनुसार, Luna SOS एप विशेषतः नारायणघाट–नागढुङ्गा खण्डमा सीमित रूपमा उपयोग गर्न मिल्नेछ। यसले सो क्षेत्रमा हुने सडक दुर्घटना, आगलागी वा अन्य विपद्मा उद्धार र राहत कार्यलाई थप छिटो, प्रभावकारी र समन्वित बनाउने अपेक्षा गरिएको छ। –00–

Share:

सम्बन्धित समाचारहरु