पोखरा, कास्की — जिल्ला प्रशासन कार्यालय कास्कीले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन सबै पदयात्री र पर्यटकहरूलाई आग्रह गरेको छ।
प्रशासनका अनुसार आजदेखि आगामी असोज २० गतेसम्म देशभर तथा गण्डकी प्रदेशमा मध्यमदेखि भारी वर्षाको प्रक्षेपण गरिएको छ। सोही कारण उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको भन्दै पदयात्रीहरूलाई सचेत रहन सूचना जारी गरिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालका अनुसार अन्नपूर्ण आधार शिविर (एबीसी), मर्दी हिमाल आधार शिविर, मोडल माछापुच्छ्रे ट्रेक, कपुचे पदयात्रा तथा खुमईलगायत लोकप्रिय पदमार्गहरूमा हालका दिनमा पदयात्रा नगर्न सार्वजनिक रूपमा अनुरोध गरिएको छ।
उनले भने, “उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। त्यसैले जीउज्यानको सुरक्षालाई ध्यान दिँदै पदयात्रा क्षेत्रका कुनै पनि स्थानमा ननिस्कन आग्रह गरेका हौँ।”
दसैँको बिदाका अवसरमा विगतका वर्षहरूमा ती पदमार्गहरूमा आन्तरिक र बाह्य पर्यटकहरूको भीड लाग्ने गरेको थियो। तर यस वर्ष प्रशासनको चेतावनीपछि पर्यटन क्षेत्र प्रभावित बनेको छ। पदमार्गमा रहेका होटल तथा रेष्टुराँहरू पनि यस प्रभावबाट खाली हुन थालेका छन्।
प्रशासनले वर्षाका कारण बाढी, पहिरो, डुबान तथा हिमपातजस्ता विपद् हुन सक्ने भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। साथै कुनै पनि घटना घटेमा सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, नजिकको प्रहरी एकाइ वा सुरक्षा निकायसँग तुरुन्त सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।–00–


