सन्तकुमार चौधरी । सेतोनेपाल-
चितवन,२० साउन। १४ महिनाका शिशु रुब्दिक परियारको टाउको अस्वाभाविक रूपमा फुल्दै गएको छ। जन्मिएको तीन महिनापछि नै टाउको फुल्न थालेको भए पनि आर्थिक अभावका कारण आमाले हालसम्म उपचार गराउन सक्नु भएको छैन।
रुब्दिककी आमा विमला परियारले भक्कानिँदै भनिन्, “चितवन मेडिकल कलेजमा डाक्टरले टाउकोमा पानी जमेको छ भने। शल्यक्रिया गर्नुपर्छ रे। डेढदेखि दुई लाख रुपैयाँ लाग्छ भनियो। कहाँबाट ल्याउनु पैसा? बच्चा बोकेर रुँदै घर फर्कें।”
बिमलाका दुई सन्तान छन्। रुब्दिक कान्छो छोरा हुन् भने जेठी छोरीपनि सानै छिन् । श्रीमान् केही महिनायता अस्वस्थ हुनुहुन्छ, तर काम गर्नुपर्ने बाध्यता छ। “शरीर कमजोर भएर पनि उहाँ काममा जानुहुन्छ,” उनले भनिन्, “नत्र बेलुकी के खाउँ भन्ने हुन्छ।”
घरको आयस्रोत भनेकै दैनिक ज्याला मजदुरी हो। सोही आयबाट गुजारा चलाउनुपर्ने परिवारको हैसियतमा उपचार सम्भव हुन सकेको छैन। विमलाले आफन्त र छरछिमेकहरूसँग सहयोगको याचना गरिन्, तर कसैले पत्याएनन्।
“अन्तरजातीय विवाह गरेकी हुँ,” बिमलाले भनिन्, “माइती पक्ष आउँदैनन्। श्रीमान् तिरका दाजुभाइहरूको अवस्था पनि उस्तै छ।”

वडा कार्यालयमा पनि सहयोगको लागि पुगिन्। पहिलोपटक वडा अध्यक्ष भेटिएनन्। वडाका सचिवलाई आफ्नो पीडा सुनाइन्। पछि आवश्यक कागजात बनाउँदा वडा अध्यक्ष दीपकबहादुर भट्टराईले सहयोग गरेका थिए। अहिले उनी नगरपालिकाबाट मासिक १,२०० रुपैयाँको भत्ता पाउँदै आइरहेकी छन्।
तर बिमलाको पीडा उस्तै छ। “यो भत्ता उपचारका लागि कहाँ पुग्छ र?” उनले आँसु पुछ्दै भनिन्, “बच्चा दिनरात रोइरहन्छ। टाउको उठाउन सक्दैन। खान पनि सक्दैन। मलाई डर लाग्छ — कतै यो अवस्थामा मैले छोरालाई गुमाउनु पर्ने त होइन?”
अझ पीडादायक कुरा त के छ भने, यिनीहरू हाल बसोबास गरिरहेको घर पनि आफ्नै होइन। केही महिनादेखि भाडामा बस्दै आएका छन्। बाँच्न संघर्ष गरिरहेको यो परिवार अब रुब्दिकको जीवन र स्वास्थ्यका लागि समाजको सहानुभूति र सहयोगको प्रतीक्षामा छ।

कालिका नगरपालिका वडा नं. ५ का वडा सदस्य जलेश्वर महतोले आर्थिक अभावले अस्पातल सम्म पुग्न सकस रहेको सुनाए । जनप्रतिनिधिहरुकै पहलमा कालिका नगर अस्पतालपनि स्वास्थ्य उपचारका लागि पुगेका थिए । नगर अस्पतालमा उपचार सम्भव नभएपछि पुःन रुब्दिकलाई घरमै ल्याएर यतिकै राखिरहेका छन् । कतैवाट आर्थिक चाजोपाँजो नमिले सम्म अस्पताल लैजान सकिने अवस्था नभएको विमलाले बताईन ।

सहयोग गर्न चाहनुहुन्छ?
रुब्दिक परियारको स्वास्थ्य उपचारका लागि सहयोग गर्न चाहने व्यक्तिहरूले सिधै आमाको मोबाइल नम्बरमा सम्पर्क गर्न वा नजिकको वडाबाट जानकारी लिएर सहयोग गर्न सक्नुहुन्छ। साथै, रुब्दिककै नाममा खोलिएको माछापुच्छ्रे बैंकको खाता नम्बरमा पनि आर्थिक सहयोग गर्न सकिने व्यवस्था गरिएको छ।
🔹 बैंकको नाम: माछापुच्छ्रे बैंक
🔹 खाता नम्बर: ०७८०९८५९९५१०००१४
🔹 खातावालाको नाम: रुब्दिक परियार
🔹 सम्पर्क नं.: विमला परियार- ९७४८४२९५६४


