हेटौँडा, १९ साउन — नेकपा एमालेले बागमती प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाउन आज बिहान १० बजे संसदीय दलको बैठक बोलाएको छ। बैठकमा सरकारमा सहभागी हुने नयाँ मन्त्रीहरूको नामावली तय गरिनुका साथै फिर्ता हुने मन्त्रीहरूको सूचीसमेत तयार पारिने भएको छ।
एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाका अनुसार अहिले सम्म कुनै निर्णय भइसकेको छैन। “सञ्चार माध्यममा जे जस्तो खबर आएका छन्, ती सबै अड्कल मात्र हुन्। बैठक बसेपछि मात्र निर्णय हुन्छ,” उनले स्पष्ट पारे। पार्टीभित्र पुराना मन्त्रीहरूलाई दोहोर्याउने वा नयाँ अनुहारलाई अघि बढाउने भन्ने विषयमा दुई धारणा देखिएका छन्। केही नेता पुराना मन्त्रीलाई निरन्तरता दिनुपर्ने मतमा छन् भने केहीले नयाँ अनुहारलाई अघि सार्नुपर्ने धारणा राखेका छन्।
प्रमुख सचेतक मधुसूदन पौडेलको नेतृत्वमा एमालेले सरकारमा सहभागिता जनाउने तयारी गरेको छ। यद्यपि अन्तिम निर्णय आजको बैठकपछि मात्र सार्वजनिक हुने बताइएको छ।
थपलियाका अनुसार, “नेताहरू छलफलमै छन्, बैठकपछि सबै कुरा स्पष्ट हुनेछ।” –00–

