चितवन, १९ साउन । चितवनमा सवारी दुर्घटनाको संख्या अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बर पुगेको छ। जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/०८२ मा साना–ठूला गरी १,०५० वटा सवारी दुर्घटना भएका छन्, जसमा १२० जनाले ज्यान गुमाएका छन्। १७२ जना गम्भीर घाइते भएका छन् भने १,७०५ जना सामान्य घाइते छन्।
अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा ४४५ वटा सवारी दुर्घटनामा ११५ जनाको मृत्यु, १५० जना गम्भीर र ६८२ जना सामान्य घाइते भएका थिए। आर्थिक वर्ष २०७९/०८० मा ३०३ दुर्घटनामा ७८ जनाको मृत्यु भएको थियो। पछिल्ला वर्षहरूमा सवारी दुर्घटना र मृत्युदर लगातार बढिरहेको देखिन्छ।
कुन महिनामा कति मृत्यु?
गत वर्ष सबैभन्दा धेरै दुर्घटना पुस (१४१) र चैत (१३४) महिनामा भएका थिए। साउनदेखि असारसम्मको विवरण हेर्दा, असारमा १७, पुसमा १४, चैतमा १३ जनाको मृत्यु भएको छ। साउन, मंसिर, माघ, फागुन, वैशाख र जेठमा पनि जनधनको ठूलो क्षति भएको देखिन्छ।
सडक सुधारसँगै दुर्घटना पनि बढ्यो
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्रीराज शर्माका अनुसार भौतिक पूर्वाधारको विकाससँगै दुर्घटना पनि बढेको छ। उनका अनुसार, “निर्माणाधीन सडकहरू पूरा भएर चिल्लो हुँदा सवारीको गति बढेको छ। साथै, मापसे, हेल्मेटको प्रयोग नगर्ने, नयाँ चालकले भित्री सडकमा गाडी चलाउनेजस्ता कारणले पनि दुर्घटना बढेका हुन्।”
सबैभन्दा बढी दुर्घटना भित्री सडकमा
गत वर्ष भित्री सडकमा मात्रै ५७७ दुर्घटना भएका छन्, जसमा ४१ जनाको ज्यान गएको छ। अघिल्लो वर्ष २५० दुर्घटनामा ५० जनाको मृत्यु भएको थियो। यस्तै, पूर्व–पश्चिम राजमार्गमा २५५ दुर्घटनामा ४४ जनाको मृत्यु, नारायणगढ–मुग्लिन सडकखण्डमा १०४ दुर्घटनामा २८ जनाको मृत्यु, पृथ्वी राजमार्ग (मुग्लिन–फिस्लिङ) मा २८ दुर्घटनामा २ जनाको मृत्यु, र सहरी सडकखण्डमा ८६ दुर्घटनामा ५ जनाको मृत्यु भएको छ।
सबैभन्दा संवेदनशील – भित्री सडक
ट्राफिक प्रमुख शर्माका अनुसार चितवनलाई पाँच सडक खण्डमा विभाजन गरेर दुर्घटनाको विश्लेषण गरिन्छ— पूर्वपश्चिम राजमार्ग, नारायणगढ–मुग्लिन सडक, पृथ्वी राजमार्ग, शहरी सडक र भित्री सडक। पछिल्लो पाँच वर्षको तथ्यांकअनुसार भित्री सडकमा हुने दुर्घटनाको संख्या, मृत्यु र घाइतेको संख्या सबैभन्दा बढी रहेको उनले बताए।
“राजमार्गमा सवारी चलाउँदा चालक सचेत हुन्छन् तर भित्री सडकमा लापरवाही, गति, हेल्मेटको अभाव र नयाँ चालकको लापरबाहीले दुर्घटना बढेको छ,” शर्माको भनाइ छ।
मृतकमध्ये धेरै पुरुष
गत वर्ष दुर्घटनामा मृत्यु हुनेमध्ये ९६ जना पुरुष, २१ जना महिला र ३ जना बालबालक थिए। २० देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरू सवारी दुर्घटनामा बढी परिरहेको प्रहरीको विवरणले देखाउँछ।–000–


