नास्पतीले चिनिएको पहाड : दक्षिणकालीका किसानको मेहनत, मौसमको चुनौती र करोडौंको कारोबार -भिडियो सहित

सन्तकुमार चौधरी – 

काठमाडौं, १ भदौं ।  हेटौंडा जोड्ने पहाडी राजमार्गको दक्षिणकाली नगरपालिका–८ क्षेत्रमा यतिबेला नास्पती पाक्ने मौसम छ। सडक छेउका बगैंचामा पहेँलोपन मिसिएको हरियो नास्पती झुन्डिएको दृश्यले यात्रुहरूको ध्यान खिचिरहेको छ। स्थानीय किसानका लागि भने यही मौसम वर्षभरिको मेहनतको प्रतिफल भित्र्याउने समय हो।

दक्षिणकाली–८ का स्थानीय सन्तोष लामिछाने विगत लामो समयदेखि नास्पती खेती गर्दै आएका छन्। उनको एक रोपनी जग्गामा करिब २० वटा नास्पतीका बोट छन्। अहिले नास्पती बिक्रीको मुख्य सिजन चलिरहेको छ, जुन करिब दुई महिनासम्म रहने गर्छ। त्यसपछि यस क्षेत्रका किसान लप्सीको उत्पादनतर्फ केन्द्रित हुन्छन्।

लामिछानेका अनुसार नास्पती खेतीमा धेरै मेहनत लाग्दैन, तर मौसमले भने उत्पादनमा ठूलो प्रभाव पार्छ। राम्रो वर्षमा एक महिनामै नास्पती बिक्री गरेर एक लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनको अनुभव छ। व्यापारीहरू बगैंचामै पुगेर फल खरिद गर्छन्। नास्पती क्रेटका आधारमा बिक्री हुन्छ र एउटा क्रेट दुई हजारदेखि २२ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।

“कुनै वर्ष राम्रो फल्छ, कुनै वर्ष कम फल्छ,” उनले भने, “फूल फुल्ने बेला पानी परेन भने फल लाग्न गाह्रो हुन्छ। कोपिला नै राम्ररी विकास हुँदैन।”

उनका अनुसार यस वर्ष उत्पादन अघिल्लो वर्षको तुलनामा करिब २५ प्रतिशतले घटेको छ। जलवायु र वर्षाको अनियमितताले फलफूल खेतीमा प्रत्यक्ष असर पारिरहेको उनी बताउँछन्।

पुष महिनातिर हाँगा रोपेर नास्पतीको बिरुवा तयार गरिन्छ। हाँगाबाटै यसको विस्तार हुने भएकाले किसानले सजिलै नयाँ बिरुवा उत्पादन गर्न सक्छन्। चिसो हावापानी हुने पहाडी क्षेत्र नास्पती खेतीका लागि उपयुक्त मानिन्छ।

दक्षिणकाली–८ मा नास्पती मात्रै होइन, लप्सी र विभिन्न तरकारी खेती पनि किसानको प्रमुख आम्दानीको स्रोत बनेका छन्। आलु, काक्रो, फर्सी, बेसार, खुर्सानी, करेला, घिरौंला, बरेला लगायतका उत्पादन यहाँबाट काठमाडौंको कालिमाटी बजारसम्म पुग्छन्। वर्षभरि कुनै न कुनै कृषि उत्पादन बजारमा पठाइरहने भएकाले यस क्षेत्रलाई तरकारी र फलफूलको उर्वर भूमि मानिन्छ।

यही उत्पादनलाई बजारसम्म पुर्‍याउने काममा सक्रिय छन् देव श्रेष्ठ। उनी पहाडी राजमार्ग छेउमा नास्पती र स्थानीय तरकारी बिक्री गर्छन्। आफ्नै बगैंचासँगै गाउँका अन्य किसानको उत्पादन पनि संकलन गरेर बजारमा पुर्‍याउने जिम्मेवारी उनले सम्हालेका छन्।

उनले नास्पतीको आकारअनुसार मूल्य निर्धारण गर्छन्। सानो आकारको नास्पती प्रतिकिलो ५० रुपैयाँ, मध्यम आकारको १०० रुपैयाँ र ठूलो आकारको नास्पती १५० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। “गत वर्ष नास्पती बेचेरै आठदेखि दस लाख रुपैयाँसम्म आम्दानी भयो,” श्रेष्ठले भने, “यो वर्ष बोलबम पर्व खासै चलेन, त्यसैले बिक्री केही कम हुने चिन्ता छ।”

दिनभर राजमार्गमा बिक्री नभएका तरकारी र फलफूल काठमाडौंको कालिमाटी बजारसम्म पुग्छन्। यहाँ उत्पादन हुने अधिकांश तरकारीमा विषादीको प्रयोग न्यून रहेको उनी बताउँछन्। मकैबालीभित्रै तरकारी खेती गर्ने भएकाले उत्पादन पनि प्राकृतिक र स्वादिलो हुने स्थानीयको दाबी छ।

स्थानीय उत्पादनको व्यापारमा संलग्न अर्का व्यक्ति हुन् बालकुमार लामिछाने। नेपाली सेनाबाट अवकाश प्राप्त उनी अहिले राजमार्ग किनारमा त्रिपालले छाएको स्टलमा बसेर नास्पती तथा स्थानीय कृषि उत्पादन बिक्री गर्छन्। उनी किसानको बगैंचामै पुगेर फल किन्छन् र काठमाडौंसहित देशका विभिन्न शहरमा पठाउने व्यवस्था मिलाउँछन्।

उनका अनुसार दक्षिणकाली–८ क्षेत्रमा मात्रै हरेक वर्ष नास्पतीको कारोबार नौदेखि दस करोड रुपैयाँसम्म पुग्ने गरेको छ।

पहाडी भेगका किसानको मेहनत, अनुकूल हावापानी र सडक पहुँचको सुविधाले दक्षिणकालीलाई नास्पती उत्पादनको महत्वपूर्ण केन्द्र बनाएको छ। तर बदलिँदो मौसम, अनियमित वर्षा र जलवायु परिवर्तनका असरले किसानलाई चिन्तित बनाइरहेको छ। उत्पादन घट्ने जोखिम बढ्दै जाँदा यहाँका किसान आधुनिक कृषि प्रविधि र बजार व्यवस्थापनमा राज्यको थप सहयोगको अपेक्षा गरिरहेका छन्।

नास्पतीको मिठाससँगै दक्षिणकालीका किसानको संघर्ष, आशा र मेहनत पनि यही पहाडमा फलिरहेको छ।

Share:

सम्बन्धित समाचारहरु