महेन्द्रनगर, १९ साउन । लगातारको वर्षापछि कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव तीव्र गतिमा बढ्दै गएको छ। नदीमा पानीको सतह खतराको तह पार गरेपछि शारदा ब्यारेज हुँदै चारपाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज बिहान १० बजे गरिएको मापनमा महाकाली नदीको बहाव १ लाख ६८ हजार ३ सय ४४ क्युसेक पुगेको थियो। यसअघि बिहान ८ बजे गरिएको मापनमा १ लाख ९ हजार ९ सय ८० क्युसेक बहाव मापन गरिएको थियो।
महाकाली नदीमा बहाव एक लाख क्युसेक नाघेपछि सुरक्षाको दृष्टिकोणले सवारी आवागमनमा रोक लगाउने गरिएको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले नदीको बहाव भोलिसम्म अझै बढ्ने सम्भावना रहेको भन्दै महाकाली नदी आसपासका क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
बाढीको जोखिम उच्च रहेकोले नदी किनार आसपास नजान तथा सावधानीपूर्वक बस्न सुरक्षा निकाय र स्थानीय प्रशासनले अनुरोध गरेका छन्।–00–


