मधेश प्रदेशमा धोका भयो : निवर्तमान मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनल

जनकपुर — मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीमाथि मधेशका जनतासँग धोका गरेको आरोप लगाएका छन्।

सोनलले सोमबार सामाजिक सञ्जाल फेसबुकमा भिडियो क्लिप सार्वजनिक गर्दै भनेका छन्, “मधेश प्रदेशको जनतासँग धोका भयो। प्रदेश प्रमुखले उपचारको नाममा काठमाडौँ जाने भन्दै जनकपुरबाट निस्किएकी थिइन्, तर बीचमै नयाँ मुख्यमन्त्रीलाई शपथ गराइन्।”

उनका अनुसार, भण्डारीले सिन्धुली र महोत्तरीको सिमानामा रहेको एउटा होटेलमा नयाँ मुख्यमन्त्री सरोज यादवलाई शपथ गराएर मधेश प्रदेशको अस्मितामाथि खेलबाड गरेकी छन्।

सोनलले भनेका छन्, “एक त महिला, अर्को स्वास्थ्य उपचारको कुरा गरिन्, तर त्यसकै बहानामा मधेश प्रदेशको अस्मिता समाप्त पार्ने काम भयो।”

विश्वासको मत नपाउने भएपछि केही दिनअघि सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि सोमबार प्रदेश प्रमुख भण्डारीले नयाँ मुख्यमन्त्रीका रूपमा सरोज यादवलाई शपथ गराएकी थिइन्।–00—

Share:

सम्बन्धित समाचारहरु