काठमाडौं,१६ साउन। आगामी कात्तिक १७ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा राजनीतिक दलहरूलाई दल दर्ताका लागि आह्वान गरेको छ।
शुक्रबार एक सूचना जारी गर्दै आयोगले दल दर्ताका लागि यही साउन २१ गतेदेखि २७ गतेसम्मको समय तोकेको छ। राजनीतिक दलहरूले आयोगको केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सक्नेछन्।
निर्वाचन आयोगले यसअघि नै उपनिर्वाचनका लागि कार्यतालिका स्वीकृत गरिसकेको छ। कार्यतालिका अनुसार, असोज २१ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयन पत्र दर्ता गर्न सक्नेछन्। सोही दिन साँझ उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरिनेछ।
असोज २४ गते उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिनेछ। मतदान भने कात्तिक १७ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा हुनेछ। आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ अन्तर्गत समानुपातिक प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका व्यक्तिहरू उम्मेदवार बन्न नपाउने स्पष्ट पारेको छ।–00–


