रञ्जिता नेतृत्वकाे पार्टी परित्याग गरेर रेशम चाैधरीले बनाए नयाँ पार्टी

काठमाडौं।  नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ गठन गरेका छन्। सामाजिक सञ्जालमार्फत पार्टी परित्यागको घोषणा गर्दै उनले नयाँ दलमार्फत अघि बढ्ने जनाएका हुन्।

चौधरीले लेखेका छन्, “मलाई साथ दिने साथीहरू जोडिनुहोस्। हिजो मसँग जोडिएका साथीहरू फेरि पनि जोडिनुहोस्। आजसम्म नागरिक उन्मुक्ति पार्टीको संरक्षकको भूमिका निर्वाह गर्न दिनुभएकोमा तपाईंहरूलाई धेरै-धेरै धन्यवाद।”

उनले पार्टीभित्र आफूलाई साथ दिनेहरूलाई पनि नयाँ यात्रामा समावेश गर्दै अघि बढ्ने बताएका छन्। “मेरो रञ्जितासँग कुनै दुश्मनी छैन। मेरो दामोदरसँग पनि कुनै दुश्मनी छैन। तपाईंहरू सबैलाई धन्यवाद। तर, मेरो दुश्मनी यस देशका ‘राष्ट्रिय फटाहाहरू’ सँग छ,” चौधरीले स्पष्ट पारेका छन्।

उनले संसदमा राजीनामा दिएर फेरि फिर्ता जानेलाई संकेत गर्दै भनेका छन्, “त्यस्ता व्यक्तिहरूसँग सम्झौता असम्भव छ।” चौधरीले नयाँ पार्टी नयाँ भावना र नयाँ राजनीतिक विचारका साथ अघि बढ्ने बताए।

“मैले नै नागरिक उन्मुक्ति पार्टीको गीत लेखेको हुँ, मैले नै विधान तयार पारेको हुँ र विचार स्थापना पनि गरेको हुँ। तर, व्यक्तिगत अहंकार र स्वेच्छाचारलाई जित्न सकिनँ,” चौधरीले लेखेका छन्।

अन्त्यमा, उनले पुरानो पार्टीप्रति आभार प्रकट गर्दै नयाँ दल ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’मा साथ र स्वागतको आग्रह गरेका छन् । –00–

Share:

सम्बन्धित समाचारहरु