काठमाडौं,१५ साउन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले साउन १५ को अवसरमा देशवासीहरूलाई शुभकामना दिँदै सबैको जीवन खीरजस्तै मिठासपूर्ण हुन सकोस् भन्ने कामना गरेका छन्।
साउन १५ का दिन नेपाली समाजमा परम्परागत रूपमा खीर खाने प्रचलन छ। यही सन्दर्भमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै भनेका छन्, ‘जसरी खीरलाई मिठासपूर्ण परिकारको रूपमा लिइन्छ, त्यसैगरी यस पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिकताको मिठास बोकेको छ। शुभ साउन १५! सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस्!’
उनले यो पर्व नेपाली समाजको परम्परा, कृषि, पशुपालन र सांस्कृतिक पक्षसँग गहिरो रूपमा जोडिएको स्मरण गर्दै हाम्रा पूर्वजहरूले रोपाइँ सकेपछि साउन १५ लाई विशेष पर्वका रूपमा मनाउने चलन सुरु गरेको उल्लेख गरेका छन्।
प्रधानमन्त्रीको सन्देशमा सांस्कृतिक जरा र सामाजिक एकताको भावनालाई जोड दिइएको छ।


