हेटौंडा, १४ साउन । बागमती प्रदेश सरकारमा बुधबार बिहान नियुक्त गरिएका तीन जना नवनियुक्त मन्त्रीहरूको शपथ रोकिएको छ ।
मुख्यमन्त्री बहादुरसिंह लामाले आज बिहान धादिङका गोविन्द लम्साल, चितवनकी माया श्रेष्ठ र गीता गुरूङलाई मन्त्रीमा नियुक्त गरेका थिए । लम्साललाई आन्तरिक मामिला तथा कानुन, श्रेष्ठलाई युवा तथा खेलकुद, र गुरूङलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
शपथ बिहान ९ बजे प्रदेश प्रमुखको कार्यालयमा गराउने तयारी गरिए पनि अन्तिम समयमा आएर शपथ रोकिएको हो । प्रदेश प्रमुख कार्यालयलाई शपथको जानकारी दिइए पनि औपचारिक प्रक्रिया अघि बढ्न सकेन ।
मुख्यमन्त्री लामाले एमाले संसदीय दलका प्रमुख सचेतकसमेत रहेका लम्साललाई मन्त्री नियुक्त गरेपछि नेकपा एमालेले आपत्ति जनाएको थियो । एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री लामालाई फोन गरेर यस्तो संवेदनशील अवस्थामा सरकार विस्तार नगर्न आग्रह गरेका थिए ।
थपलियाले अहिलेको अवस्थामा मन्त्री नियुक्ति र शपथले गलत सन्देश जाने भन्दै रोक्न सुझाव दिएपछि मुख्यमन्त्री लामा अन्योलमा परेका हुन् ।
यसअघि लामाले पाँच मन्त्रीलाई बर्खास्त गरेर रिक्त मन्त्रालयमा तीन नयाँ नियुक्ति गरेका थिए । तर दलको नेताबाट हटिसकेका मुख्यमन्त्री लामाको यो निर्णयमाथि नै विवाद सुरु भएको छ ।–00–


