कालिका, १६ माघ । कालिका नगरपालिका नगरक्षेत्रभित्रका टोल विकास संस्थाहरुलाई क्रियाशील बनाउने थालेको छ । पहिलो चरणमा कालिका नगरक्षेत्रभित्रका १ सय ५७ वटा टोल विकास संस्थाका प्रतिनिधिहरुलाई सरसफाई बारे जानकारी दिन अन्तरक्रियात्मक छलफल सुरु गरेको छ । कालिका वडा नं. १ देखि ५ सम्मका ५७ वटा टोल विकास संस्थाका प्रतिनिधिहरुसँग आज छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
वडा नं. २ स्थ्ति महिला संजालको भवनमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा गौतम प्रमुख अतिथि रहनुभएको थियो । उद्घाटन कार्यक्रमलाई संवोधनगर्दै प्रमुख प्रशासकीय अधिकृत गौतमले सरसफाईलाई ध्यान नदिए सम्म नगर सम्बृद्ध बन्न नसक्ने बताउनुभयो । सम्बृद्ध र सम्पन्न नगर बनाउन स्थानीय टोल विकास संस्थाहरुको महत्वपूर्ण भूमिकाहुने भएकाले सबैसँग हातेमालोगर्दै नगरपालिका अगाडी बढ्ने जानकारी दिनुभयो ।
वन वातावरण विपद् व्यवस्थापन समिति संयोजक वीरेन्द्र तामाङको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा नगरपालिकाका सामाजिक विकास समिति संयोजक समेत रहनुभएका वडा नं.४ का वडा अध्यक्ष मकरमान श्रेष्ठ, वडा नं. १ का वडा अध्यक्ष शन्तवीर स्याङतान, वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण पौडेल, वडा नं. ५ का वडा अध्यक्ष दीपकवहादुर भट्टराई, कार्यपालिका सदस्य ज्योती सुनार लगायतका जनप्रतिनिधिहरुको उपस्थ्तिी थियो ।
टोल विकास संस्थाका प्रतिनिधिहरुलाई सरसफाई सम्बन्धी कालिका नगरपालिकाका आर्थिक विकाश शाखा एवम् सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख प्रकाशचन्द्र पौडेल र श्रेन्द्र पोखरेलले सहजिकरण गर्नुभएको थियो ।
आफ्नो टोल कसरी सरसफाई राख्ने, टोल विकास संस्थाहरुले खेल्नुपर्ने भूमिका र दायित्व बारे जानकारी दिएका थिए ।
आज पहिलो दिन वडा नं. १ देखि ५ सम्मका टोल विकास संस्थाका प्रतिनिधिहरुसँग भएको कार्यक्रम भोली वडा नं. ६ र ७ का ४५ वटा टोल विकास संस्थाका प्रतिनिधिहरुबीच हुनेछ । अन्य बाँकी वडाका टोल विकास संस्थाका प्रतिनिधिहरुसँग पर्सी छलफल हुने आर्थिक विकाश शाखा एवम् सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख प्रकाशचन्द्र पौडेलले जानकारी दिनुभयो ।






—00—

