चितवनका दुई सांसद बागमती प्रदेशको मन्त्रीमा नियुक्त

चितवन, १४ साउन । संसदीय दलको नेताको हैसियत गुमाइसकेका बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नयाँ तीन जना मन्त्री नियुक्त गरेका छन् ।

मुख्यमन्त्री लामाले चितवनका सांसद माया श्रेष्ठ र गीता गुरुङसहित गोविन्द लम्साललाई मन्त्रिपरिषद्मा समेटेका हुन् । नियुक्त भएकामध्ये गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने श्रेष्ठ र गुरुङको मन्त्रालय भने तोकिएको छैन ।

यसअघि सरकारभित्र देखिएको आन्तरिक विवादका कारण पाँच जना मन्त्रीले राजीनामा दिएका थिए । तर मुख्यमन्त्री लामाले उनीहरूको राजीनामा स्वीकृत नगरी बर्खास्त गरेका थिए । ती मन्त्रालयहरू मन्त्रीविहीन भएपछि आज तीन मन्त्रीको नियुक्ति गरिएको हो ।

हाल बागमती प्रदेशको युवा तथा खेलकुद, संस्कृति तथा पर्यटन, खानेपानी, ऊर्जा तथा सिंचाइ र सहकारी तथा गरिबी निवारण मन्त्रालय नेतृत्वविहीन छन् ।

गत साउन ९ मा चार जना र साउन १० मा एक जना मन्त्रीले लामाविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्दै पदबाट राजीनामा दिएका थिए । हिजो बसेको संसदीय दलको बैठकले लामालाई दलको नेताबाट हटाउने निर्णयसमेत गरिसकेको छ । अविश्वास प्रस्ताव पारित भइसके पनि मुख्यमन्त्री लामाले राजीनामा नदिने अडान दोहोर्‍याएका छन् ।–00–

Share:

सम्बन्धित समाचारहरु