प्रधानमन्त्री ओलीको स्पष्ट सन्देश : ‘राजावादीका प्रतिगामी सपना कहिल्यै पूरा हुँदैन’

काठमाडौं, २८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राजसंस्था पुनःस्थापनाको सपना देखिरहेका राजावादीहरूको आकांक्षा कहिल्यै पूरा नहुने दाबी गरेका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर सत्रमा सहभागी हुँदै प्रधानमन्त्री ओलीले जेठ १५ बाट सुरु गर्न लागिएको राजावादी आन्दोलनप्रति टिप्पणी गर्दै भने, “यसपल्टको मात्र होइन, अब आउने कुनै पनि जेठ १५ पर्खनुस्, तपाईंहरूको सपना साकार हुने छैन। प्रतिगामी सपना कहिल्यै काम लाग्दैन।”

राजावादी पार्टी र संगठनहरूले १५ जेठदेखि अनिश्चितकालीन आन्दोलन घोषणा गरेका छन्। संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीको नेतृत्वमा सुरु हुन लागेको आन्दोलनले राजसंस्था पुनःस्थापना, हिन्दूराष्ट्र घोषणाको माग र संघीयता खारेजीजस्ता एजेन्डा अघि सारेको छ।

प्रधानमन्त्री ओलीले बदलिँदो समय र परिवेशलाई आत्मसात गर्दै संविधान र लोकतान्त्रिक प्रणालीभित्रै रहेर राजनीति गर्न राजावादीहरूलाई सुझाव दिएका छन्।

“समय चिन्नुपर्छ, समयअनुसार अघि बढ्नुपर्छ। बंगलादेशमा पनि राजा थिए, फर्किएनन्। श्रीलंकामा पनि फर्किएको छैन। लोकतन्त्रभित्र रहेर राजनीति गर्ने हो,” प्रधानमन्त्री ओलीले भने, “इतिहासले मिल्काइसकेको व्यवस्थालाई फर्काउने प्रयास गर्नु व्यर्थ हो।”

उनले राजावादीहरूलाई संविधानअनुसार शान्तिपूर्ण राजनीति गर्न आग्रह गरे।

Share:

सम्बन्धित समाचारहरु