काठमाडौं, २६ साउन । तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनअन्तर्गत सोमबार आयोजित ‘आमसञ्चार, अपाङ्गता र आदिवासीको सवाल : समावेशी सञ्चारका लागि सञ्चारकर्मको भूमिका’ विषयक समूहगत छलफलमा सहभागी वक्ताहरूले अपाङ्गता भएका व्यक्ति तथा आदिवासी जनजाति समुदायका मुद्दा सञ्चारमाध्यममा अझै पर्याप्त रूपमा नउठेको बताएका छन्।
छलफलमा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का संघीय अध्यक्ष लक्की चौधरीले सञ्चारमाध्यममा अपाङ्गतासम्बन्धी सफलताका कथा र केही छिटफुट विषय उठे पनि समग्र रूपमा उनीहरूको सहभागिता र प्रतिनिधित्व न्यून रहेको बताए।
“अपाङ्गता भएका व्यक्तिका विषयमा छुट्टै बिट बनाएर समाचार लेख्ने अभ्यास नै छैन,” उनले भने, “ठूला सञ्चारमाध्यमले समेत अपाङ्गताको विषयलाई प्राथमिकतामा राख्न सकेका छैनन्। हाम्रो सोच र काम गराइबीच अझै तालमेल मिल्न सकेको छैन।”
उनले मातृभाषी पत्रकारहरूले सिमान्तकृत समुदाय, आदिवासी जनजाति तथा आवाजविहीन वर्गका मुद्दालाई निरन्तर प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै यस्ता विषयमा थप बहस र संवाद आवश्यक रहेको बताए।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) का अध्यक्ष अर्जुन गिरीले सामुदायिक रेडियोहरूले स्थानीय तहका साना–साना विषयसमेत निरन्तर उठाइरहे पनि नीतिगत तहमा त्यसको सम्बोधन हुन नसकेको बताए।
“सञ्चारमाध्यमले विषय नउठाएको होइन, समस्या र मौलिकताका मुद्दा उठाइएका छन्,” उनले भने, “तर तिनलाई सम्बोधन गर्ने मानसिकता र राजनीतिक इच्छाशक्ति पर्याप्त देखिएको छैन।”
उनका अनुसार नेपालभर ४ सयभन्दा बढी सामुदायिक रेडियो आबद्ध छन् भने ७० भन्दा बढी भाषामा कार्यक्रम उत्पादन तथा प्रसारण भइरहेको छ। अपाङ्गतासम्बन्धी विषयलाई स्रोतका रूपमा मात्र नभई सूचनाकै विषय बनाएर प्रस्तुत गर्ने प्रयास भइरहेको उनले बताए।
क्रियाशील महिला पत्रकार (डब्लुडब्लुजे) की अध्यक्ष यामकला खड्काले सञ्चारमाध्यममा महिला र आदिवासी समुदायको प्रतिनिधित्व अझै कमजोर रहेको बताइन्। उनले महिलालाई प्रायः दयाका पात्रका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति कायम रहेको उल्लेख गर्दै समावेशिताको अभ्यास अझै अपर्याप्त रहेको धारणा राखिन्।
– “मिडिया हाउसहरूमा आदिवासी जनजाति समुदायको सहभागिता न्यून छ,” उनले भनिन्, “समावेशी सञ्चारको कुरा गर्दा महिलाको सहभागिता बढाउने विषयलाई पनि प्राथमिकतामा राख्नुपर्छ। अपाङ्गता भएका व्यक्तिसम्म आवश्यक सूचना पुर्याउन पनि हामी अझै सफल हुन सकेका छैनौं।”
राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्घ, नेपालकी अध्यक्ष डा. प्रतिमा गुरुङले आदिवासी जनजाति र अपाङ्गता भएका व्यक्तिका मुद्दा सञ्चारमाध्यममा पर्याप्त रूपमा नसमेटिएको बताइन्।
उनले नेपालमा करिब ३७ प्रतिशत जनसंख्या आदिवासी जनजातिको रहेको र यस समुदायभित्र महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिको ठूलो हिस्सा रहेको उल्लेख गरिन्। उनका अनुसार नेपालमा करिब १३ लाख अपाङ्गता भएका व्यक्ति रहेका छन् र यो संख्या क्रमशः बढ्दो अवस्थामा छ।
“मिडियाको सामग्री राजनीति, अर्थतन्त्र र मनोरञ्जनमा मात्र सीमित हुनु हुँदैन,” उनले भनिन्, “आदिवासी समुदायभित्र रहेका अपाङ्गता भएका व्यक्तिका सवालहरू अझै पनि पर्याप्त रूपमा उठान भएका छैनन्। केही सञ्चारमाध्यमले विषय उठाए पनि मानवअधिकार र समावेशी दृष्टिकोणबाट हेर्दा त्यो पर्याप्त छैन।”
वक्ताहरूले समावेशी सञ्चारको अभ्यासलाई बलियो बनाउन सञ्चारमाध्यमले अपाङ्गता, आदिवासी जनजाति, महिला तथा सिमान्तकृत समुदायका मुद्दालाई नियमित समाचार एजेण्डा बनाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले प्रतिनिधित्व, पहुँच र सहभागितालाई सुनिश्चित गर्दै सञ्चार क्षेत्रलाई थप समावेशी बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
काठमाडौंमा जारी तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा नेपालसहित विभिन्न देशका मातृभाषी पत्रकार, सञ्चारकर्मी, सञ्चारविद् तथा आदिवासी जनजाति समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको छ। —000–

