दिवाकर स्मृति विद्यालयद्वारा मृगौला पीडित पूर्व विद्यार्थी विनोद क्षेत्रीलाई ३० हजार सहयोग

मीन प्रसाद खरेल (बिजय)-

चितवन ।  दिवाकर स्मृति माध्यमिक विद्यालयले मृगौला रोगबाट पीडित आफ्ना पूर्व विद्यार्थी विनोद क्षेत्रीको उपचारका लागि ३० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

लामो समयसम्म विद्यालयमा सहयोगी कर्मचारीका रूपमा कार्यरत बुद्धि क्षेत्रीका छोरा समेत रहेका विनोदको उपचारमा सघाउ पुर्‍याउने उद्देश्यले विद्यालयका विद्यार्थी र शिक्षकहरूको संयुक्त पहलमा उक्त रकम संकलन गरी प्रदान गरिएको हो। विद्यालय अन्तर्गत सञ्चालित दिवाकर रेडक्रस तथा शिक्षक विपद् कोषबाट सहयोग रकम उपलब्ध गराइएको शिक्षक मिलन पनेरुले जानकारी दिनुभयो। उहाँका अनुसार गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका विनोदलाई उपचारमा सहजता होस् भन्ने उद्देश्यले यो सहयोग जुटाइएको हो।

विद्यालय परिवारले आवश्यक परे आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ। माडी नगरपालिका–५, नयाँ पिपरिया निवासी २३ वर्षीय विनोद क्षेत्री हाल गम्भीर अवस्थामा उपचाररत छन्।–000–

Share:

सम्बन्धित समाचारहरु