चितवन । भरतपुर महानगरपालिका–१० क्षेत्रमा सञ्चालित विभिन्न स्पा तथा मसाज सेन्टरमा जिल्ला प्रहरी कार्यालय चितवनले छापा मार्दा ८ जना नियन्त्रणमा परेका छन्।
मिति २०८२ चैत २५ गते अपराह्न करिब ३ बजे प्राप्त सूचनाका आधारमा प्रहरी नायव निरीक्षक जहरलाल स्याङतनको कमाण्डमा सादा पोशाकसहित १० जनाको टोली खटिएको थियो। टोलीले उक्त क्षेत्रमा रहेका केही स्पा तथा मसाज सेन्टरहरूमा अनुगमन तथा छापा सञ्चालन गरेको हो।
प्रहरीका अनुसार ती सेन्टरहरू अनुमतिबिना (दर्ता नगरी) सञ्चालन भइरहेको, कोठामा क्यूआर कोड राखी सेवा दिने/लिने गरिएको तथा अवैध क्रियाकलापसमेत हुने गरेको सूचनापछि कारबाही अघि बढाइएको हो।
छापा क्रममा स्पा सञ्चालक, कर्मचारी र ग्राहकसमेत गरी जम्मा ८ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। नियन्त्रणमा परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले यस्ता अवैध गतिविधि नियन्त्रण गर्न अनुगमनलाई थप कडाइ गर्ने समेत जनाएको छ।–00–


