काठमाडौं , २४ वैशाख । भारतले बुधवार बिहान पाकिस्तानी भूभागमा गरेको मिसाइल हमलाको जवाफस्वरूप पाकिस्तानले पाँच वटा भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ।
पाकिस्तानी सेनालाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार भारतका तीन राफेल जेट, एक मिग–२९, एक एसयू–३० लडाकु विमान तथा एक ड्रोन खसालिएको दाबी गरिएको हो। यद्यपि, यी दाबीहरू स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन्।
भारतले हमला पाकिस्तानको पन्जाब प्रान्त र पाकिस्तान प्रशासित कश्मीरमा रहेको कथित ‘आतंकवादी पूर्वाधार’ लक्षित गरी गरेको थियो। भारतीय मिडियाका अनुसार यो आक्रमण भारत प्रशासित कश्मीरमा दुई हप्ताअघि पर्यटकहरू मारिएको घटनापछि गरिएको हो, जसको दोष भारतले पाकिस्तानमाथि लगाएको थियो।
पाकिस्तानी सुरक्षास्रोतले हमला कोटली, अहमदपुर पूर्व, मुजफ्फराबाद, बाग र मुरिदके क्षेत्रमा भएको बताएका छन्। तर, पाकिस्तानले भारतको दाबीलाई अस्वीकार गर्दै हमलाले मुख्य रूपमा आम नागरिकहरूलाई क्षति पुर्याएको जनाएको छ। सीएनएनका अनुसार, पाकिस्तानी सुरक्षा स्रोतको ब्रिफिङले विमानहरू कहाँ र कसरी खसालिए भन्ने विवरण दिएको छैन। भारतीय सरकारसँग सम्पर्क गर्ने प्रयास जारी रहेको सीएनएनले जनाएको छ।
दुबै देशका सीमावर्ती क्षेत्रमा बुधवार बिहानदेखि गोलीबारी र गोला हानाहान भइरहेको बताइएको छ। पाकिस्तान प्रशासित कश्मीरमा रहेका पत्रकारहरूका अनुसार ठूलो संख्यामा विस्फोटका आवाजहरू सुनिएको छ। त्यस्तै, भारत प्रशासित कश्मीरको श्रीनगरमा समेत विस्फोट भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। श्रीनगर विमानस्थलका निर्देशकले नागरिक उडानका लागि विमानस्थल बन्द गरिएको जानकारी दिएका छन्।
युद्धको सम्भावना बढेपछि अमेरिकी विदेश मन्त्रालयले भारत र पाकिस्तानबीचको तनावलाई ‘नजिकबाट निगरानी गरिरहेको’ जनाएको छ।–00


