पूर्वराजाहरूको विश्रामस्थल शिकारीवासमा आज पनि सेवा–सुविधाको हाहाकार

सन्तकुमार चौधरी | सेतोनेपाल

पर्सा ,११ साउन । पर्सा जिल्लाको ठोरी गाउँपालिका–३ मा अवस्थित ऐतिहासिक शिकारीवास बस्ती आज पनि आधारभूत सेवा–सुविधाबाट वञ्चित छ। चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रभित्र पर्ने घनाजंगलको बीचमा रहेको यस बस्तीमा हाल करिब ५२ घरधुरीको बसोवास रहेको छ।

नेपालका पूर्वराजाहरू शिकार खेलेर विश्राम लिने ठाउँका रूपमा परिचित यो बस्ती ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ। हाल यहाँ उराव समुदायको एक घर, बस्नेत थरका दुई घर, अर्याल थरको एक घर, यादव समुदायको एक घर र बाँकी सबै थारू समुदायका परिवार बसोवास गर्छन्।

बस्ती ब्रह्मनगरको शिकारीवास पुलबाट करिब ७ किलोमिटर उत्तरतर्फ कच्ची बाटो हुँदै पुगिन्छ। कच्ची जंगलको बाटो, वन्यजन्तुको डर, र वर्षायामको बाढीका कारण यहाँ आवतजावत गर्न निकै कठिन भएको स्थानीयहरूको गुनासो छ।

स्थानीय जितेन्द्र चौधरीका अनुसार बाघ, चितुवा लगायतका वन्यजन्तुहरू बस्तीमै पसेर र उनीहरूले पालेका खसीबाख्रा मार्ने गरेको छ । वन्यजन्तुका कारण खेतवारीमा जान समेत डर हुन्छ ।

शिकारीवासमा आज सम्म विद्युत सेवा पुगेको छैन। गाउँलेहरू सोलार बत्तीमा भर परिरहेका छन् । घाम लागेन, अलि ढिलो सम्म हुस्सु लाग्यो भने सोलारवत्तीले कामगर्दैन । सोलारबत्ती भएर कयौं रात टुकी बालेर बस्नुपरेको अनुभव स्थानीयसँग छ ।

तीन वर्षअघि गाउँपालिकाको पहलमा सोलार बत्ती जडान गरिएको भए पनि यो स्थायी समाधान होइन भन्ने स्थानीयहरूको धारणा छ।

 

स्थानीय अगुवा सुजीतकुमार बस्नेत भन्छन्, “बस्ती ऐतिहासिक भए पनि राज्यबाट अपेक्षित सेवा पाएको छैन। सोलार बत्ती अस्थायी हो। सरकार गम्भीर भएर नियमित विद्युत् सेवा ल्याउनुपर्छ।”

बस्तीमा पुग्ने सडक, नियमित बिजुली, एम्बुलेन्स सेवा, र पूर्वतर्फ बग्ने खोला नियन्त्रण प्रमुख छन्। वर्षायाममा सडकमा हिलो र बाढीले बस्ती अन्य बस्तीसँग सम्पर्क नै टुट्न पुग्छ । गाउँमा मोबाइलको टावर समेत आउँदैन । आपत्कालीन अवस्थामा, विशेषतः गर्भवती महिलालाई अस्पताल पुर्‍याउन झन समस्या हुन्छ।

“जंगलको बाटो हुँदै एम्बुलेन्स आउँदैन, हामी ब्रह्मनगर वा निर्मलबस्ती हुलाकी सडकसम्म बिरामी बोक्न बाध्य हुन्छन् ।

बस्तीमा हाल कक्षा ५ सम्म पढाइ हुने विद्यालय सञ्चालनमा आएको छ भने केही समयअघि मात्र स्वास्थ्यचौकी स्थापना भएको छ। यसले शिक्षामा पहुँच र स्वास्थ्य सेवामा सहजता दिएको गाउँलेहरू बताउँछन्। यहाँका अधिकांश बासिन्दा अन्यको जग्गा अधियामा लिएर खेतीपाती गरी गुजारा चलाउँछन्। धान, गहुँ र तेलहन मुख्य बालिका रूपमा वर्षमा तीनपटक खेती हुने गर्छ।

तत्कालिन निर्मलबस्ती गाउँ विकास समितिका उपाध्यक्ष समेत रहनुभएका स्थानीय पत्रकार गोविन्दप्रसाद श्रेष्ठका अनुसार ठोरीको सबैभन्दा पुरानो मानव बस्ती नै शिकारीवास हो। “मानव बस्तीको सुरुआत नै यहीँबाट भएको हो,” श्रेष्ठ भन्छन्। उनका अनुसार यो बस्ती पहिल्यै चितवन जिल्लाको बघौडा प्रगन्ना अन्तर्गत पर्दथ्यो।

स्थानीयहरूका अनुसार ऐतिहासिक महत्त्व, प्राकृतिक सौन्दर्य, र सांस्कृतिक विविधता बोकेको यो बस्ती पर्यटकीय गन्तव्य बन्ने ठुलो सम्भावना बोकेको छ। तर, हालसम्म स्थानीय, प्रदेश र संघ सरकारको चासो नपुगेको भन्दै उनीहरूले गुनासो गरेका छन्।

“यदि सडक, बिजुली, स्वास्थ्य सेवा, खोलाको नियन्त्रण, र पूर्वाधार विकासमा लगानी गरियो भने शिकारीवास पर्सा जिल्लाकै आकर्षक गन्तव्य बन्न सक्छ,” ।

Share:

सम्बन्धित समाचारहरु