काठमाडौं ,९ साउन । देशका केही स्थानमा आज मेघगर्जन, चट्याङ र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा छ। दिउँसो देशभर सामान्य बदली रहनेछ।
वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका साथै अन्य पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
त्यस्तै, राति कोसी प्रदेशसहित देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहने बताइएको छ।
कोसी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। साथै, कोसी प्रदेशको तराई तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना पनि विभागले जनाएको छ।
सावधानी अपनाउन र आवश्यक सतर्कता रहन विभागले सर्वसाधारणलाई आग्रह गरेको छ।–00–
