पपुलर जागरण प्रालिको घोषणाः १०१ जनालाई निःशुल्क सीपमुलक तालिम

चितवन, ६ साउन ।  पपुलर जागरण प्रालिले आफ्नो पहिलो स्थापना दिवसको अवसर पारेर १०१ जनालाई लक्षित गरी निःशुल्क सीपमुलक तालिम सञ्चालन गर्ने भएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित उक्त तालिम कपाल काट्ने, उद्घोषण, कपडाको झोला बनाउने, टपरी बुन्ने तथा लागुऔषध दुव्र्यसनीबारे सचेतनामूलक हुने पपुलर युनिसेक्स सलुनका सञ्चालक एवं पपुलर जागरण प्रालिका अध्यक्ष सुलभ सिग्देलले जानकारी दिए।

तालिम विवरणअनुसार कपाल काट्ने तालिममा २१ जना, उद्घोषण तालिममा २० जना, कपडाको झोला बनाउने तालिममा २० जना, टपरी बुन्ने तालिममा २० जना र लागुऔषध दुव्र्यसनीसम्बन्धी तालिममा २० जना भन्दा बढी सहभागी हुनेछन्। सिग्देलका अनुसार टपरी बुन्ने तालिम विशेषगरी सरकारी विद्यालयमा अध्ययनरत बालिकाहरुलाई लक्षित गरिएको छ। त्यस्तै, विदेश फर्किएका युवा तथा स्थानिय युवायुवतीहरुलाई समेत तालिमद्वारा स्वरोजगारमुखी बनाउने उद्देश्य रहेको छ।

“हामीले सबै तालिम एक महिनाभित्र सम्पन्न गर्नेछौं,” सिग्देलले भने, “कपाल काट्ने तालिम ९० घण्टाको हुनेछ र एक महिनाभित्र पूरा गर्ने लक्ष्य लिएको छौं।”

उनका अनुसार यसअघि उनले ११० जनालाई निःशुल्क कपाल काट्ने सीप सिकाइसकेका छन् भने व्यावसायिक रुपमा पाँच हजारभन्दा बढी व्यक्तिलाई तालिम दिइसकेका छन्। “भरतपुर महानगरपालिकाभित्र १८ देखि ३५ वर्ष उमेर समूहका युवायुवतीहरुलाई लक्षित गरेर मैले कम्पनी दर्ता गरेको हुँ,” उनले थपे।

तालिम सञ्चालनमा करिब दुई लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। “मैले आफ्नो आम्दानीको १० प्रतिशत सामाजिक कार्यमा खर्च गर्ने नीतिअनुसार यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो,” सिग्देलले स्पष्ट पारे।

यसैबीच, सिग्देलले आफ्नो ३८ औँ जन्मदिन र संस्थाको स्थापना दिवसको अवसरमा मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरेका छन्। रेडक्रसको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन्। “मेरो ३८औँ जन्मदिनमा ३८ जनाले रक्तदान गर्नु लक्ष्य थियो, जुन पूरा भएको छ,” उनले भने।

–00—

Share:

सम्बन्धित समाचारहरु