काठमाण्डौं, २८ जेठ । गृहमन्त्रीको राजीनामाको माग गर्दै विपक्षी दलले निरन्तर नाराबाजी जारी राखेपछि प्रतिनिधिसभाको आजको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ।
सभामुख देवराज घिमिरेले आजका सम्पूर्ण कार्यसूची हटाइएको जानकारी दिँदै बैठक विहीबार दिउँसो ३ बजे बस्ने गरी स्थगित गरिएको घोषणा गरे।
बैठक सुरू हुनासाथ विपक्षी सांसदहरूले ‘गृहमन्त्री राजीनामा दे, मानव तस्करलाई कारबाही गर’ भन्दै नाराबाजी सुरु गरेका थिए। सभामुख घिमिरेले दलगत रुपमा आफ्ना भनाइ राख्नका लागि सहयोगको वातावरण बनाइदिन पटकपटक आग्रह गरेपनि विपक्षीले नाराबाजी जारी राखेका कारण बैठक अगाडि बढ्न सकेन।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीलाई जिम्मेवार ठहर गर्दै राजीनामाको माग गरिरहेको विपक्षी गठबन्धनले विगत दुई सातादेखि लगातार सदन अवरुद्ध गर्दै आएको छ। विपक्षीको अडानले संसदको कामकारवाही ठप्प हुँदै आएको छ।


