१२ कक्षाको नतिजा साउनको अन्तिम साता सार्वजनिक गर्ने तयारी

काठमाडौं, ,५ साउन ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा साउन महिनाको अन्तिम साता सार्वजनिक गर्ने तयारी गरेको छ।

नियमित शैक्षिक क्यालेन्डरअनुसार साउन १५ भित्रै नतिजा सार्वजनिक हुनुपर्ने भए पनि यस वर्ष शिक्षकहरूको आन्दोलनका कारण सो समयसीमा भन्दा करिब १० दिन ढिलो हुने भएको हो। बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार, गत चैत २० गतेदेखि सुरु भएको २९ दिन लामो शिक्षक आन्दोलनले परीक्षा तालिकामा असर पुर्‍याएपछि त्यसको प्रत्यक्ष प्रभाव नतिजा प्रकाशनमा परेको हो।
“परीक्षा ढिला भएकोले नतिजा पनि स्वभाविक रूपमा केही दिन ढिला हुँदैछ,” शर्माले बताए।

उनका अनुसार कक्षा १२ को परीक्षा गत वैशाख ११ गते सुरु हुने तय भएको थियो, तर आन्दोलनका कारण १० दिनपछि वैशाख २१ गतेदेखि मात्र परीक्षा सञ्चालन भएको थियो। “हाल उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न भइसकेको छ,” शर्माले भने, “इन्ट्रीको काम तीव्र गतिमा भइरहेको छ, हामी साउनको अन्तिम साता नतिजा सार्वजनिक गर्ने तयारीमा छौं।”

राष्ट्रिय परीक्षा बोर्डका अनुसार, यस वर्ष कक्षा १२ को परीक्षामा देशभरबाट ५ लाख ११ हजार ५२५ जना विद्यार्थी सहभागी भएका थिए।–00–

Share:

सम्बन्धित समाचारहरु